आइतबार, भदौ १४, २०८३

हराउँदैछन् बगाले बगेडी, चासाे खाेइ ?

पछिल्लो समय मानिसले मासुका लागि बगाले बगेडीको शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अतिसंकटापन्न अवस्थामा पुगेको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

पछिल्लो समय मानिसले मासुका लागि बगाले बगेडीको शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अतिसंकटापन्न अवस्थामा पुगेको छ।

पोखरा- बगाले बगेडी चरा प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यो चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन्। 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले बगाले बगेडी भँगेरा आकारको रंगीन र आकर्षक चरा भएको बताए। 

उनका अनुसार विशेषतः जाडोयाममा रुस, मंगोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ। 

पछिल्लो समय मानिसले मासुका लागि बगाले बगेडी चराको शिकार गर्न थालेपछि अहिले यो चरा विश्वमै अतिसंकटापन्न अवस्थामा पुगेको छ। हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ। 

बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्यांकले देखाएको छ। 

उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको भुषालको भनाइ छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुंगीको वासस्थान जोगाउन सकिने बताए। 

‘वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो’, उनले भने। 

उनले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा वासस्थान विनाश र अव्यवस्थित रूपमा विषादीको प्रयोगलगायतका कारणले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताए। 

बर्ड एजुकेशन सोसाइटी चितवन अध्यक्ष रमेश चौधरीले नेपालमा ८८६ प्रजातिका चरा अभिलेखीकरण भएको जानकारी दिए। उनका अनुसार विश्वमा ११ हजार २२५ प्रजातिका पक्षी छन्। 

नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी ९ प्रजातिका पक्षीलाई संरक्षित पक्षी भनी घोषणा गरिएको छ। काँडे भ्याकुर नेपालमा मात्र पाइने पक्षी हो। 

ग्रिष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका पक्षी जाडो छल्न आउने गर्दछन्।

त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउने गरेको अभिलेख रहेको छ भने ७९ प्रजातिका चरा भने फिरेन्तरूपमा देखिने गरेका छन्।

नेपालमा आठ प्रजातिको चरा लोप भइसकेको आशंका गरिएको छ। पोखरामा ४७२ प्रजाति र चितवनमा ६९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।

नेपाल पक्षी संरक्षण संघका कार्यक्रम संयोजक मित्र पाण्डेले सन् २००४ देखि २०१७ सम्म तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसंकटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिए। 

पोखरा पक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै गएको बताए। 

घिमिरेले सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचोसमेत औँल्याए। 

प्रकाशित: Apr 13, 2021| 06:10 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।