पर्सा- पर्सामा प्रहरीले डिजल, पेट्रोल तथा मट्टितेल बिक्रिमा कडाइ गरेको छ।
तस्करी बढेपछि प्रहरीले पर्साका प्रत्येक पम्पहरुमा चेतावनी दिँदै डिजल, पेट्रोल, मट्टितेल ग्यालेन बेच्न बन्द गराएको छ।
नेपालबाट भारततर्फ डिजेल, पेट्रल तथा मट्टितेल तस्करी भएको भन्दै प्रहरीले प्रत्येक पेट्रोल पम्पहरुलाई चेतावनी दिँदै प्रज्वलनशील पदार्थ बिक्रि वितरणमा कडाइ गरेको हो।
प्रहरीको कडाइले यहाँ व्यवसाय गर्ने व्यापारी तथा सर्वसधारण मर्कामा परेका छन्। उपभोक्तालाई गाउँपालिका, वडा कार्यलय वा सम्बन्धित पालिकाको सिफारिस ल्याए मात्रै तेल दिइनेगरी कडाइ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।
गर्मी बढेसँगै छिनछिनमै जाने बत्तीले उद्योग, कलकारखाना चलाउन धौधौ परेका बेला जेनेरेटरका लागि चाहिने डिजेल माग्दा पम्पहरुले तेल नदिएर समस्यामा परेको वीरगंज महानगरपालिका वडा नं. ८ का स्थानीय राहुल खड्काले बताए।
सीमामा कडाइ गर्न नसक्ने प्रहरीले प्रत्येक पम्पमा स्थानीय निकायको सिफारिस संस्थाको लेटरप्याड, आईडी कार्ड र तेल चाहिने कारण खुलाई निवेदन दिए मात्रै तेल पाउने नियमले उपभोक्तालाई सास्ती मात्रै दिएको उनको भनाइ छ।