काठमाडौं– सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्गमा उत्पन्न तनाव साम्य भएको छ।
काठमाडौंबाट सोमबार दोलखातर्फ गुडिरहेको अरनिको यातायातको बा३ख ९६५८ नम्बरको यात्रुवाहक बसले खाडीचौरबाट काठमाडौंतर्फ गुडिरहेको बा५९ प ६९८६ नम्बरको मोटरसाइकललाई सुकुटेमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको थियो।
उनको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले पाँच घण्टादेखि अवरुद्ध गरेको सडक बल प्रयोग गरेर खुलाइएको सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले दिए।
दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारी प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यस क्रममा स्थिति साम्य पार्न प्रहरीले केही थान रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो। सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका थिए। स्थिति साम्य भएपछि यातायात सञ्चालन भएको सापकोटाले बताए।
दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा सिन्धु सदावहार अस्पताल खाडीचौरमा निधन भएको थियो। घटनामा अन्य दुई जना घाइते भएका छन्।
‘दुर्घटनामा एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक बन्द गरेकाले स्थिति सामान्य बनाउन बल प्रयोग गर्नुपरेको हो’, सापकोटाले भने।
अर्का गम्भीर घाइते सोमबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ। मोटरसाइकलमा रहेका ६ वर्षीय बालकको पनि उपचार भइरहेको छ। घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।