आइतबार, भदौ १४, २०८३

विकास निर्माणको गति गिज्याउने बानेश्वरको आकाशे पुल

ठेक्का सम्झौताको म्याद सकिएको १५ महिना बित्दासमेत बानेश्वरकाे आकाशे पुलकाे काम अधुरै छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं- काठमाडौंको बानेश्वर चोक हुँदै दैनिक हजारौं सवारीसाधन र यात्रु आवतजावत गर्छन्। 

यति मात्रै होइन, देशको नीति निर्माण गर्ने थलो संसद भवनसमेत नजिकै छ चोकबाट। मन्त्री, सांसद, प्रधानमन्त्री र राष्ट्रपति यही सडकबाट ओहोरदोहोर गर्छन्। तर, यही व्यस्त चोकको आकाशे पुल निर्माण कार्य डेढ वर्षदेखि अलपत्र छ।

पुल नबन्दा सवारी जाम मात्रै होइन, पैदल यात्रुले पनि सास्ती भोग्नुपरेको छ। हरेक दुई-दुई मिनेटमा यात्रु र सवारीसाधन उभिरहनुपर्छ। ट्राफिक व्यवस्थापनमा पनि उस्तै समस्या छ।

देशमा विकास निर्माणको अवस्था कति दयनीय छ भन्ने यही व्यस्त र मुख्य सडकको आकाशे पुलले देखाउँछ।ठेक्का सम्झौताअनुसार पुल निर्माण २०७६ पुस मसान्तमै सकिनुपर्ने हो। तर, सम्झौताको म्याद सकिएको १५ महिना बित्दासमेत पुल बनेको छैन। 

एउटा पुल बन्न यतिका समय किन लाग्यो त?

सडक डिभिजन कार्यालय काठमाडौं प्रमुख कुवेर नेपाली भन्छन्, ‘लकडाउन र कोरोना महामारीका कारण निर्माण सामग्री तथा कामदार नपाउँदा पुल निर्माणमा ढिलाइ भयो।’

पुल निर्माणको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय काठमाडौंले दुईपटकसम्म म्याद थप गरिसकेको छ। तर, पुल निर्माणमा अझै एक महिना लाग्ने नेपाली बताउँछन्। 

‘पुलको संरचना तयार भइसकेको छ, ल्याएर जोड्ने काम मात्रै बाँकी हो,’ उनले भने, ‘अबको एक महिनाभित्रमा पुल बनिसक्छ।’

सडक डिभिजन कार्यालय काठमाडौंले बानेश्वरमा आकाशे पुल निर्माणका लागि पवन प्रकृति जेभीलाई ठेक्का दिएको थियो। २०७५ चैतमा दुई करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सो पुलको लम्बाइ ३८ मिटर हो। 

समयमै पुलको काम गर्न नसकेपछि आफ्नो कमजोरी ढाक्न डिभिजन कार्यालय र ठेकेदार कम्पनीले महामारीपछिको लकडाउन बहाना बनाएका छन्।तर, माघदेखि महामारीको प्रभाव केही घटे पनि काम सुरु भएन। 

यो पुलको काम अगाडि बढाउन ठेकेदार कम्पनी र डिभिजन कार्यालय कसैले पनि अग्रसरता देखाएनन्। बरु डिभिजन कार्यालयले महामारी, भूमिगत टेलिफोनका तार, ट्रान्सफर्मर लाइन जडान आदिले काममा ढिलाइ भएको कारण देखाउँदै आयो। 

डिभिजन कार्यालयका अनुसार पुल निर्माणको काम ६०  प्रतिशत सकिएको छ। ‘अब ४० प्रतिशत मात्र काम बाँकी छ,’ डिभिजन कार्यालय प्रमुख नेपालीले भने, ‘वैशाखभित्र पुलको काम सकिन्छ।’

प्रकाशित: Apr 12, 2021| 13:13 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।