रायपुर– भारतको छत्तीसगढ राज्यमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु बढेपछि रायपुरमा मात्र ४६ वटा दाहसंस्कार घाट निर्माण गरिएको छ।
आइतबार त्यहाँ सयभन्दा धेरै शवको अन्तिम संस्कार गरिएको छ। ग्रामीण क्षेत्रमा मानिसहरुले खेतमै शव जलाएको खबर पनि आइरहेको बीबीसीले जनाएको छ।
छत्तीसगढका नगर प्रशासन मन्त्री शिवकुमार डहरियाले मृत्युपछि शव जलाउन लामो समय कुर्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार अन्तिम संस्कारमा देखिएको अवरोधलाई ध्यानमा राख्दै रायपुर, दुर्ग, विलासपुर, कोरबा, भिलाई तथा रिसाली नगरमा विद्युतीय शवदाह गृह बनाउन निर्देशन दिइएको छ।
पछिल्लो २४ घण्टामा रायपुरमा मात्र दुई हजार ८३३ संक्रमित थपिएका छन्। राज्यमा सक्रिय संक्रमितको संख्या ९१ हजार ३११ थियो। त्यहाँ सोही अवधिमा १२३ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणले बढी प्रभावित भारतका पाँच राज्यमध्ये छत्तीसगढ महाराष्ट्रपछि दोस्रो स्थानमा छ। छत्तीसगढ सरकारले रायपुरको इन्दोर स्टेडियमलाई कोभिड अस्पताल बनाएर सोमबारबाट ३२० अक्सिजनयुक्त शैय्याको सुविधासहित उपचार सुरु गर्ने तयारी गरेको छ।
राज्यका २८ मध्ये २० जिल्लामा पूर्ण रुपमा लकडाउनको घोषणापछि पनि कोरोना संक्रमण बढिरहेको छ। अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड खाली छैनन्। अस्पतालका करिडोर, सिँढी तथा भुइँमा समेत बिरामीहरु अक्सिजन सिलिन्डर लिएर बसेका बताइएको छ।
भारतमा पछिल्ला केही सातायता कोरोना संक्रमणसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएपछि विभिन्न राज्यहरुले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन्।