खोटाङ - जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान सुरु गरिएको छ। विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरूको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान सुरु गरिएको हो।
भर्खरै स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक संकलन हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।
पुस्तकालयका लागि जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले १४, जिल्ला प्रशासन कार्यालय खोटाङले ९, बिन्दु अधिकारी ढकालले तीन, प्रहरी निरीक्षक सागर साहले सात र प्रहरी सहायक निरीक्षक हरिकुमार पौडेलले दुई थान पुस्तक प्रदान गरिसकेका छन्।
प्रहरी कार्यालयको हिरासत अगाडि स्थापना गरिएको पुस्तकालयलाई सहयोग स्वरुप गत शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिए। प्रहरी कार्यालयमा स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउन जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थासमेतले तयारी गरिरहेका छन्।
हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन पुस्तकालयको अवधारणा अघि सारिएको प्रनाउ चिमरियाले बताए। पुस्तक अध्ययन गर्न चाहने थुनुवाको नाम, मुद्दाको प्रकृति, पुस्तक लगेको मिति, फिर्ता गरेको मिति उल्लेखित रेकर्ड राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
हिरासतमा पुस्तक अध्ययन गर्ने बानी परेका व्यक्ति हिरासतमुक्त भएपछिसमेत अध्ययनमा सहभागी भएको पाइएको प्रहरीले जनाएको छ। हिरासत नजिकै स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका कम्तीमा पनि एक हजार पुस्तक जुटाउने लक्ष्य राखिएको प्रहरीले जनाएको छ।
पुस्तकालयमा राजनीतिबाहेक सबै विषयका पुस्तक रहने जनाइएको छ। जिल्ला कारागार खोटाङमा कैदीबन्दीका लागिसमेत यसअघि पुस्तकालय स्थापना गरिएको थियो। कारागारमा स्थापना गरिएको पुस्तकालयलाई समेत जिल्लावासी तथा विभिन्न संघसंस्थाले निःशुल्क पुस्तक उपलब्ध गराइरहेका छन्। रासस