काठमाडौं- काठमाडौं मोडल कलेज (केएमसी)बाट कक्षा १२ उत्तीर्ण गरेकी मनीषा सापकोटालाई क्यानडेली विश्वविद्यालयबाट उच्च शिक्षाको डिग्री लिने रहर छ। त्यसको तयारीमा छिन् उनी। तर पछिल्लो समय उनलाई क्यानडा जाने कि नजाने भन्ने द्विविधा उत्पन्न भएको छ।
भिसा आइहाले पनि जान पाइएला कि नपाइएला भन्ने चिन्ता लागेको बताउँछिन् उनी। कोरोना भाइरसका नयाँ प्रजाति देखिएसँगै संक्रमण बढ्दै गएकाले विभिन्न देशले अन्तर्राष्ट्रिय उडान बन्द गरेका कारण उनको चिन्ताको ग्राफ पनि बढेको हो।
उनी विश्वविद्यालयमा भर्ना भएपछि अनलाइन कक्षा लिएर डलरमा विश्वविद्यालयको शुल्क कसरी तिर्ने भन्ने विषयले चिन्तित बनाएको बताउँछिन्।
‘उता गए पो काम गर्दै पढेर कजेजको फी तिर्न सकिन्थ्यो। अब यहीँ बसेर अनलाइनबाट पढेर कसरी फी तिर्नु? आवेदन गर्नु कि नगर्नु? साह्रै तनाव भा छ,’ उनले द्विविधा व्यक्त गरिन्।
000
बाग्लुङका हरि पौडेल पनि कक्षा १२ उत्तीर्ण गरेपछि जापान जानकै लागि जापानी भाषा सिक्दै छन्। जापानी भाषा सिकेर उतै गएर पढ्ने सोच बनाएका उनले आसाही इन्टरनेसनल एजुकेसनबाट आवेदनको तयारीमा छन्।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा जापान नै जान नपाइने हो कि भन्ने पीरले उनलाई सताएको छ। ‘काम गर्दै पढ्दै गर्ने भनेर जापान जान खोजेको हो। यता भर्ना पनि भएको छैन। उता पनि जुलाईसम्म खुल्देन रे। कहिले आवेदन गर्ने? मेरो त इयर लस नै हुने भो।’
000
सापकोटा र पौडेल प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै हजारौँ विद्यार्थी विदेशमा अध्ययन गर्न जाने भनेर नेपालका कुनै विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिएका छैनन्। विदेशमा गएर पढ्ने चाहना भएका विद्यार्थीहरूलाई गन्तव्य देशले सीमाबन्दी गरेका कारण अन्योल थपेको हो।
अस्ट्रेलियामा अध्ययनका लागि जान शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका विद्यार्थीको संख्या मात्रै करिब ६ हजार पुगेको छ। अन्य देशमा जाने प्रक्रियामा रहेका विद्यार्थीहरूको संख्या पनि २० हजारभन्दा बढी छ। नेपाली विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्यमा रहेको जापान, अस्ट्रेलियाजस्ता देशमा विद्यार्थी जान पाएका छैनन्।
युक्यान एजुकेसनका सञ्चालक निरञ्जन पन्तका अनुसार अहिले अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सीमा खुला नहुँदा समस्या भएको हो। 'युके र क्यानडाका लागि पक्रिया पूरा गरेर विद्यार्थी जान पाउँछन्। त्यहाँ गएर क्वारेन्टाइनमा बस्नुपर्छ। अन्तर्राष्ट्रिय उडान भइरहेकै छ। विद्यार्थी निर्धक्क भएर पढ्न जान सक्छन्,’ उनले भने।
नेपालबाट उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीको रोजाइमा जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युके, भारतलगायतका देश छन्। केही वर्षयता विदेश अध्ययनमा जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएकोमा कोभिड-१९ का कारण गत वर्षदेखि यो संख्या घटेको छ।
नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाका लागि भिसा प्रोसेस गरेर पनि अहिले विद्यार्थी जान पाएका छैनन्। केही विद्यार्थी भने नेपालमा नै बसेर अनलाइन कक्षा लिन बाध्य भएका पनि छन्।
शिक्षा मन्त्रालय एसओसी शाखा प्रमुख नारायण पोखरेलका अनुसार विद्यार्थीलाई एनओसी प्रदान गर्न समस्या छैन। उनले भने, ‘प्रक्रिया पूरा गरेका विद्यार्थीलाई विदेश अध्ययनमा जान शिक्षा मन्त्रालयको तर्फबाट रोकतोक छैन।’
एनओसी शाखाको तथ्याङ्कअनुसार विदेश अध्ययनमा जान आर्थिक वर्ष २०७६/७७ मा ३४ हजार ९४ जनाले एनओसी लिएका थिए। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा २९ हजार १ सय ६५ ले कम हो।
२०७५/७६मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका थिए। २०६५/६६ देखि निरन्तर रुपमा बढ्दै गएको तर गत वर्षदेखि एनओसी लिनेको संख्यामा कमी आएको छ।
सीमा खुला नभएका देश जान समस्या भएको र विद्यार्थीको आर्थिक अवस्थाले पनि नेपालमै बसेर डलरमा फी तिर्न सक्ने अवस्था नभएको परमर्शदाताहरूको भनाइ छ।
स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनका उपाध्यक्ष हेमन्तराज दुलाल भन्छन्, ‘जुलाईसम्म भिसा लागेका विद्यार्थी पनि जापानमा अध्ययन गर्न जान पाउँदैनन्। अस्ट्रेलिया र न्युजिल्यान्ड पनि बन्द छ। विद्यार्थी आत्तिइरहेका छन्। विद्यार्थीले नेपालमा नै बसेर अनलाइन क्लास लिएर फी तिर्न सक्ने अवस्था छैन। तर भर्ना गरिसकेका विद्यार्थीका हकमा यसको विकल्प पनि छैन।’
परामर्शदाताको भनाइमा विद्यार्थीलाई एकातिर करिअरको चिन्ता छ भने अर्कोतिर नेपालमै बसेर अनलाइन क्लास गरेर फी तिर्न सक्ने अवस्था पनि छैन। विदेश अध्ययनमा जाने प्रोसेस गर्दा नै अधिकांश विद्यार्थीले बैंकबाट कर्जा लिएका हुन्छन्।
यसरी विद्यार्थी यही बसेर पढ्ने हो भने फी तिर्न गाह्रो छ। कर्जा चुक्ता गर्न पनि समस्या पर्ने देखिएको छ। यसले विद्यार्थीमा मानसिक तनाव सिर्जना भएको अभिभावक र परामर्शदाताहरूको अनुभव छ।