जनकपुरधाम- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल समूहले प्रदेश २ मा अलग्गै संसदीय दल बनाएको छ। आइतबार संसदीय दलको कार्यालयमा बसेको नेपाल पक्षका नेताहरूको बैठकले एमाले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो।
बैठकले प्रदेशसभा सदस्य रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतकमा र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ। ६ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको पूर्वसन्ध्यामा नेपाल समूहले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो।
महतोलाई संसदीय दलका नेतामा चयन गरिएको पत्र प्रदेशसभा सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ। यसअघि तत्कालीन नेकपा रहेका बेला पनि मण्डललाई हटाएर महतोलाई संसदीय दलको नेतामा चयन गरिएको थियो। मण्डल केपी शर्मा ओली पक्षका नेता हुन्।
प्रदेशसभामा नेकपा (एमाले)का २१ जना प्रदेससभा सदस्य छन्। २१ मध्ये १३ जना प्रदेशसभा सदस्य नेपाल समूहका छन्।