मोगादिशु – अफ्रिकी मुलुक सोमालियाको बाइडाओ सहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। ६ जनाभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो। यद्यपि विस्फोटबाट उनी भने सुरक्षित छन्।
प्रहरीले वारधरका कम्तीमा दुईजना अंगरक्षक घाइते भएको जनाएको छ। प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको उक्त विस्फोटको आवाज सहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताए।
आतंकवादी संगठन अल–कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। यस संगठनले अफ्रिकी मुलुकहरूमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ।
प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। यसैबीच मोगादिशुको हुरिआ जिल्लामा गरिएको बम विस्फोटमा परेर एक सैनिकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका छन्।
सोमालियामा सुरक्षा कमजोरी व्यापक रहेको भन्दै स्थानीयवासी चिन्तित हुन थालेका छन्। यसै वर्षको सुरुमा गरिने भनिएको आमनिर्वाचनमा ढिलाइ भएकाले पनि समस्या अरू बढ्दै गएको छ। रासस