काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम गरेको बताएका छन्।
नेपाल दलित संघले आज काठमाडौंमा आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाएका हुन्।
संसदमा उभिएर विघटनको प्रयास किन गरियो भनेर स्पष्टीकरण दिनुपर्नेमा ओली नियोजित रूपमा अघि बढेको उनको भनाइ छ।
नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसद्मा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौतीसमेत दिएका छन्।
विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति व्यक्त गर्दै नेता सिंहले संसद्मा उपस्थित हुन आग्रह गरेका छन्।
‘सरकारले देश र जनतालाई झुक्याइरहेको छ, नभएको विकास भयो भनेर जनताको मत र विश्वासमाथि खेलबाड गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यस्तो देखिन्नँ।’
देशलाई संकट पर्दा कांग्रेसले सधैँ देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका छन्।
सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको उनको भनाइ छ।
अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनी बताउँछन्।
तोकिएको समयमा महाधिवेशन गराउन सबै लाग्नुपर्ने पनि उनको भनाइ छ। तर, अहिले पनि महाधिवेशनलाई प्रभावित पार्ने काम भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।