बैतडी – बैतडीमा भारतबाट फर्केका आठजनामा कोरोना पुष्टि भएको छ।
भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठजनामा कोरोना पुष्टि भएको हो।
पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एकजना दोगडाकेदारका रहेका छन्।
सङ्क्रमित आठैजना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ।
सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो।
यस्तै भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ।
जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना सङ्क्रमितहरूको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। रासस