आइतबार, भदौ १४, २०८३

२७ वर्षमा पनि ढलमुक्त भएन बागमती

नाम परिवर्तन, नेतृत्व परिवर्तन भई २७ वर्ष पूरा भए पनि बागमतीको पानी कालो हुन नरोकिएको समितिका सञ्चालक सदस्य माला खरेल स्वीकार्छिन्। 'आयोजनाका कामबाट हामी नै सन्तुष्ट हुनसकेका छैनौँ,' उनले भनिन्। 
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं-  बागमती नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले स्थापना भएको बागमती आयोजना २७ वर्ष पूरा भएको छ। यो अविधमा सफाइका विभिन्न कार्यक्रम भएपनि बागमती नदी ढलमुक्त हुन भने सकेको छैन। 

विसं २०५१ चैत २८ गते बागमती ढल सुधार आयोजनाका नाममा स्थापना भएकामा हाल अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नाम दिइएको छ।

नाम परिवर्तन, नेतृत्व परिवर्तन भई २७ वर्ष पूरा भए पनि बागमतीको पानी कालो हुन नरोकिएको समितिका सञ्चालक सदस्य माला खरेल स्वीकार्छिन्। 'आयोजनाका कामबाट हामी नै सन्तुष्ट हुनसकेका छैनौँ,' उनले भनिन्। 

स्थापनाकालमा हालका राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनाको नेतृत्व गरेकी थिइन्। भण्डारीपछि पूर्वसांसद विदुर पौडेलका पालामा आयोजनाको अघि 'अधिकार सम्पन्न' भनी नाम थपिएको थियो। नाममा अधिकार सम्पन्न थपिए पनि काममा त्यो लागू नभएको पूर्वअध्यक्ष नरेन्द्रराज बस्नेतको गुनासो छ।

विसं २०६३ को परिवर्तनपछि बनेका कृष्ण केसीको पालामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नाम दिइएको थियो।

समितिको २७औँ स्थापना दिवसका अवसरमा बागमती सफाइ महाअभियानको ४१३औँ हप्ताको बागमती नदी सफाइ पनि गुह्येश्वरी क्षेत्रमै गरिएको छ। सफाइपछि समितिको स्थापना दिवसका अवसरमा भौतिक दूरी कायम गरी अभियानकर्मी, समितिका पदाधिकारी एवं कर्मचारीका बीच कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौडेलले बागमती पहिलेभन्दा बढी फोहर हुन थालेको बताए। सफाइ अभियानको ५०औँ हप्ताका अवसरमा गुह्येश्वरीस्थित नदी किनारमा स्नान गरेको स्मरण गर्दै उनले त्यसबेलाभन्दा पानी बढी कालो भएको बताए।

सफाइ अभियानकर्मी अधिकार सम्पन्न बागमतीलाई सघाउन आएकाले प्रतिद्वन्द्वीका रूपमा नबझ्न पूर्वमुख्यसचिव पौडेलको आग्रह थियो। आयोजना र अभियानकर्मीले तिक्तता नराखी काम गर्नुपर्नेमा उनले जोड दिए। समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले बागमतीलाई ढलमुक्त गराई नदी किनारमा अव्यवस्थितरूपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा समितिका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायतले नदीको सफाइमा सरोकार भएका सबै निकायले समन्वयात्मकरूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।

औपचारिक कार्यक्रमअघि भएको सफाइमा अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल सिनामङ्गल, तिलगङ्गा महिला समूह, स्थानीयवासी, बागमती फोहर उन्मूलन उपभोक्ता समितिका पदाधिकारीले सफाइ पनि गरेका थिए। 

महानगरपालिका–११ को पहलमा रुद्रमती (धोबीखोला) बागमती दोभानमा सफाइ कार्यक्रम आयोजना गरियो। सफाइमा वडा सदस्य दिपेश राउत, आशा श्रेष्ठ, यशोमति परियार, राजेशमार्ग टोल सुधार समितिका पदाधिकारी एवं सदस्य, स्थानीयवासी, महानगरपालिका फोहर व्यवस्थापन विभाग टेकु, नेपाली सेना चण्डीदल गण सिंहदरबारका गणपतिसहितको टोली सहभागी थियो। सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प एवं कोरोना जोखिमजस्ता प्रतिकूल परिस्थितिमा पनि निरन्तर बिहान दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ हुँदै आएको छ। महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यकाका सांस्कृतिक सम्पदा तथा चक्रपथका विभिन्न भागमा सफाइ भइरहेको छ।

उपत्यकाका गुह्येश्वरीमाथिको बागमती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ। उपत्यका बाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदामा पनि सफाइ शुरु भएको छ।

देशव्यापी जागरणका रूपमा सफाइ अभियान शुरु भए पनि स्थानीय सरकारले स्वामित्व लिएर सहयोग नगर्दा आशा गरेअनुरुपको काम हुन नसकेको अभियानकर्मीको गुनासो छ। सफाइ स्थानीय सरकारको कार्य क्षेत्र भए पनि बेवास्ता गरिँदा विभिन्न रोगको महामारी फैलने गरेको छ।

प्रकाशित: Apr 10, 2021| 15:18 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।