शनिबार, असोज १०, २०८३

जनकपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि चुनाव

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि  बेलुका ६ बजेसम्म मतदाताहरुले मत खसालेका थिए।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

जनकपुरधाम- जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि  बेलुका ६ बजेसम्म मतदाताहरुले मत खसालेका थिए। शनिबार भएको मतदानमा ४ हजार ३११ जना मतदाताले मत खसालेको निर्वाचन समितिका संयोजक संतोषकुमार साहले जानकारी दिए। जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ५ हजार २७ मतदाता रहेका छन्। 

निर्वाचन समितिका संयोजक साहका अनुसार मतदान सम्पन्न गराउन ३ वटा पोलिंग वुथ राखिएको थियो भने ५० वटा पोलिंग एजेण्ट खटाइएका थिए। मतगणना राति ९ बजेबाट सुरु हुने बताइएको छ। 

संघको अध्यक्षमा जितेन्द्र महासेठ र जितेन्द्र प्रसाद साहबीच प्रतिस्पर्धा छ। महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष हुन्। महासेठलाई जनता समाजवादी पार्टी र नेकपा एमालेका नेताहरुको समर्थन छ। साहले नेपाली कांग्रेसको साथ पाएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा व्यवसायी मनिष रमन साह र सुरेन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। साह र भण्डारी दुवैले निर्वाचन जित्न ठूलो रकम खर्चेका छन्। साहलाई कांग्रेस र भण्डारीलाई एमालेको समर्थन छ।
यस्तै निर्वाचनमा जनकपुरधामका वडाध्यक्षहरु पनि विभाजित भएका छन्। साहलाई जिताउन वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह खुलेर लागेका छन्। भण्डारीको पक्षमा वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले प्रचार गरेका छन्।

यस्तै एक उपाध्यक्षका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन्। श्यामप्रसाद साह, संतोषकुमार साह, लक्षमण साह, अनिलकुमार प्रधान, अम्भ प्रसाद साह, रमेशकुमार यादव र फुलगेन साह उपाध्यक्षका उम्मेदवार हुन्। महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भइसकेकी छन्।

यस्तै महासचिवमा पनि सात उम्मेदवार प्रतिस्पर्धामा छन्। महासचिव बन्न कृष्णमुरारी साह, रामकुमार महासेठ, अशोककुमार चौधरी, सुधीर पञ्जियार, मनोजकुमार साहसहित चुनावी मैदानमा छन्।
सचिवका लागि गोपी कुमार साह, संतोष कुमार महासेठ र फुलदेव पण्डितले प्रतिस्पर्धा गरिरहेका छन्। कोषाध्यक्षमा रमेश्वर साह, मनोजकुमार शर्मा र विजयकुमार साहबीच प्रतिस्पर्धा छ।

एशोशिएट सदस्यमा राजिव कुमार साह निर्विरोध निर्वाचित भइसकेका छन्। एक महिला सदस्यका लागि सरिता ठाकुर र माया कुमारीबीच प्रतिस्पर्धा छ। कार्यकारी सदस्यका लागि ११ जनाबीच प्रतिस्पर्धा छ।

प्रचारप्रसारमै करोडौं खर्च, पर्चा पम्पलेटले सडक नै ढाकियो

जनकपुरस्थित गोपाल धर्मशालामा भइरहेको निर्वाचनमा उम्मेदवारहरुले प्रचारमा करोडौं रुपैयाँ खर्च गरेका छन्। उद्योग वाणिज्य संघको मतदानस्थल पर्चा पम्पलेटले भरिएको थियो। 

रामचोकमा करिब ५ सय मिटरमा उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्नका लागि पर्चा पम्पलेट झुण्ड्याएका थिए। यसरी पर्चा पम्पलेटमै उम्मेदवारहरुले लाखौको रकम खर्चेको पाइएको छ। 
सार्वजनिक ठाउँमा प्रचार सामग्री टाँस्न निर्वाचन आचार संहिताले रोक लगाएको छ। तर कुनै पनि उम्मेदवारले आचार संहिताको पालना गरेनन्।

प्रकाशित: Apr 10, 2021| 14:10 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्