पोखरा- आन्तरिक पर्यटकमार्फत् ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१, झिल्ली बरेङ पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानका विषयमा जानकारी लिएका छन्।
कोभिड १९ पछि होमस्टे व्यवसायमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममार्फत् व्यवसायी महिलाले उक्त ठाउँको बारेमा जानकारी लिएका हुन्। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड १९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामिण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताए। उनले कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिकस्थलको खोजी गरेको जनाउँदै बरेङको होमस्टेमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको जनाए।
उनका अनुसार बरेङ अन्नपूर्ण हिमशृंखला, लालिगुराँस, भिरमौरीलगायत गुरुङ, मगरबस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो। गाउँपालिकामा २० वटा होमस्टे भए पनि हाल १२ वटा सञ्चालनमा छन्।
उक्त गाउँपालिका वडा नं १ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले भिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताए। उनले कोभिड १९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको भनाइ राखे। वडा सदस्य भुलबहादुर पौडेलले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रर्वद्धन गर्दै लगेका धारणा राखे। उनले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितिले यस क्षेत्रलाई थप चिनाउने विश्वास समेत व्यक्त गरे।
उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताइन्। उनले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह सुझाव दिनसमेत आग्रह गरिन्।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड १९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामिण पर्यटनमा प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन्। संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सबै जुट्नु पर्ने धारणा राखिन्।
कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी कार्यक्रम संयोजक रीता रेग्मीलगायतका सहभागी सदस्यहरुले अवसरसँगै देखिएका चुनौतीका विषयमा अनुभव राखे। कोभिड १९ ले शान्त र प्राकृतिकस्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचिले ग्रामिण पर्यटन प्रवर्द्धन हुँदै गएको उनीहरुको भनाइ थियो। त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुन सक्नेतर्फ पनि छलफल गरिएको थियो।
नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवर्द्धनमा आयोजना गरिएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्य समितिलगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिइन्।