आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको सेटिङमा पार्टी फुटाइँदा सम्बन्ध विच्छेद भएका पतिपत्नीजस्ता भयौं : दाहाल

ओलीको सेटिङमा पार्टी फुटाइँदा सम्बन्ध विच्छेद भएका पतिपत्नीजस्ता भयौं : दाहाल

दाहालले ओलीका कदमविरुद्ध लागेका माधवकुमार नेपाल र झलनाथ खनालसँग आफ्नो लभ परेको तर त्यसलाई अदालतले जबरस्ती पुरानै अवस्थामा फर्कादिएको टिप्पणी गरे।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको 'सेटिङ'मा पार्टी पुरानै अवस्थामा पुगेपछि अहिले आफूहरू सम्बन्ध विच्छेद भएका पतिपत्नीजस्तो भएको बताएका छन्। 

दाहालले ओलीका कदमविरुद्ध लागेका माधवकुमार नेपाल र झलनाथ खनालसँग आफ्नो लभ परेको तर त्यसलाई अदालतले जबरस्ती पुरानै अवस्थामा फर्कादिएको टिप्पणी गरे।

माओवादी केन्द्रको कर्णाली सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन उनले भने, 'अप्राकृतिक कुरा भयो, यसरी छुट्ट्याउन मिल्ने कुरै होइन। जन्मिएर तीन वर्ष भएको बच्चालाई फेरि आमाको गर्भमा पठाउन मिल्छ?'

दाहालले 'लभ' परेका पतिपत्नीलाई अदालतले जबरजस्ती सम्बन्ध विच्छेद गरिदिएपछि अहिले दुलहादुलही रुँदैरुँदै आआफ्नो घरतिर लागेको टिप्पणी गरेका थिए।

'जन्मेर तीन वर्ष भइसकेको बच्चालाई फेरि आमाको गर्भमा पसाउँछु भनेर हुने कुरा हो र? यो त लाटो बुद्धिले पनि मिल्दैन नि। तर गरे। सर्वोच्चले गरेपछि हामीले मान्नुपर्छ भन्ने रहेछ। मान्दिनँ भन्न नपाइने,' उनको गुनासो थियो। 

उनले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्चको निर्णयप्रति आफूहरु सहमत नरहेको बताए। दाहालले भने, 'यो प्राकृतिक छैन। स्वाभाविक छैन त भनेका छौं। तर मान्दिनँ भन्यौं भने हामीले यो व्यवस्था नमानेको हुने रे। अरुले नमान्दा हुने रे, हामीले नमान्दा नहुने रे भन्ने बनाउन खोजिएको छ,' उनले भने। 

अध्यक्ष दाहालले पार्टी एकता गरेर गल्ती नगरेको र विभाजन पनि आफूहरुले नगरेको बताएका थिए। 'सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा जतासुकै ओली अल्पमतमा परेपछि प्रतिक्रान्तिकारी तागतहरुसँग मिलेर के के अप्राकृतिक सेटिङ गरेर अर्काको सहारामा, आफ्नो बलबुद्धिले होइन, हामीलाई दुई ठाउँमा बनाइयो,'  उनले भने। 

नेकपा एकताको झन्डा उठाइरहन अध्यक्ष दाहालले कार्यकर्तालाई निर्देशन दिए। 'एकताको झन्डा उठाइरहनुपर्छ। अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टीलाई पुनर्मिलन गराउन आवश्यक छ,' उनले भने। 

ओलीको हठका कारण कैयौंपटक पार्टी धरमरमा पर्न थालेपछि धेरै कुरामा उदार भएर आफूले गल्ती गरेको उनको ठहर छ। 'मैले दुईतीनवटा भोटा फटाएको छु, कम्रेड भनेर म पग्लिएँ। तर त्यसो गर्न नहुने रहेछ। गल्ती गरेको महसुस भएको छ,' दाहालले भने, 'आफ्ना छँदै छन् भनेर बेवास्ता गरेर अर्काको पछि लाग्दा अवस्था बिग्रियो। अब त्यस्तो नगर्ने संकल्प मनमनै गरेको छु।'

ओलीले अहिले हारे पनि जितेजसरी बसेको भन्दै उनले आलोचना गरेका थिए। 'संसद् विघटन भएपछि त हारेका हुन् नि। हामी त हुंकार गर्नुपर्ने जात हो। त्यत्रो परिवर्तन गरेको शक्तिको अनुहारमा उज्यालो छैन। उनीहरुले हामीलाई देख्दा यिनीहरु त जितेका हुन् भनेर डराउनुपर्ने थियो। तर उनीहरु नै जितेजसरी बसेका छन्,' उनले भने। 

दाहालले ०४७ साल फर्काउँछौं भनेर केही शक्ति लागिपरेको भन्दै त्यसलाई सफल हुन नदिने दृढता व्यक्त गरे। अब उत्पादनका निम्ति संघर्ष गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। डिजिटललाई उत्पादनमा संघर्ष र वैज्ञानिक प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Apr 10, 2021| 09:12 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।