काठमाडौं- नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजयी भएको छ।
शनिबार सम्पन्न मतगणनामा पोखरेलले नेतृत्व गरेको टिमले जित हासिल गरेको हो।
यही चैत २५ गते देशभरका सबै जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिट्सका लागि एकै पटक मतदान भएको थियो। झण्डै १३ हजार पत्रकारले नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।
प्रत्यक्ष प्रणालीबाट भएको नयाँ नेतृत्वको निर्वाचनमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित मैदानमा उत्रिएका थिए। त्यस्तै अध्यक्ष पदमा गजेन्द्र सिंह बुढाथोकी पनि उम्मेदवार थिए।
केन्द्रीय समितिमा पोखरेल नेतृत्वको टिमले सम्पूर्ण पदमा जित हासिल गरेको छ। वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्ष उदय जीएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईँ, महिला सचिवमा सिर्जना अर्याल तथा सचिव (आदिवासी जनजाति) मा नारायण सुन्दर किलम्बु विजयी भएका छन्।
त्यस्तै सचिव मधेसीमा दीपेन्द्र चौहान, सचिव एसोसिएटमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल,लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।
अध्यक्षदेखि सम्पूर्ण सदस्यसम्मका पदमा पोखरेल नेतृत्वको टिम विजयी भएको छ। साथै अधिकांश जिल्ला शाखा तथा प्रतिष्ठानमासमेत पोखरेल नेतृत्वको प्यानलले जित दर्ता गरेको छ।
प्रतिष्ठान प्रदेशका तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका मणि दाहाल भने स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए।