काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै नयाँ सरकार बन्ने बताएका छन्।
माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिले शनिबार पेरिसडाँडामा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्नै पर्ने भएको समेत उल्लेख गरेका हुन्।
'यो केपीले त बर्बादै पार्ने भयो' भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु। जसपाले पनि ठिक छ भनेको छ। हामी सल्लाह गर्छौँ र टुंग्याउँछौँ भनेको छ। केही दिनभित्र नयाँ सरकार बन्छ। र बन्नुपनि पर्छ,' उनले भने।
उनले जसपासँग र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल-झलनाथ खनाल पक्षसँग मोर्चा बनाएर जान सकिने उनले उल्लेख गरेको छ।
उनले अबको चुनावमा केपी शर्मा ओली नेतृत्वको एमाले चौथो नम्बरमा पुग्ने समेत दाबी गरे।
'मोर्चा त बन्छ, बन्छ र बनाउनैपर्छ। हामी र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ। जसपाका नेताहरुसँग पनि हाम्रो उहिल्यैदेखि मिल्दै आएको हो। नेपाली कांग्रेससँग चुनावमा तालमेल भयो भने पनि ठूलो कुरा हुन्छ,' प्रचण्डले भने, 'पत्रकार महासंघको चुनावमा मोर्चा बनाएर हामीले ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ। आउने चुनावमा हामीले राम्रोसँग मोर्चा बनायौं, इमानदार भयौं र मेहनत गर्याैं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो। त्यसपछि उनको विघटन सुरु हुन्छ।'