काठमाडौं - प्रिमियर क्लब चेल्सीले एफए कपको क्वार्टरफाइनल चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
आइतबार राति चेल्सीको मैदानमा भएको खेलमा प्रतिद्वन्द्वी शेफिल्ड युनाइटेडलाई परास्त गर्दै चेल्सीले सेमिफाइनल यात्रा पक्का गरेको हो।
अब चेल्सीले सेमिफाइलनमा प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
गएरातिको खेलमा अधिकतम समय गोलमा पकड बनाएको चेल्सीले २–० गोलको जित निकाल्दा पहिलो गोल उपहार पाएको थियो।
शेफिल्डका ओलिभिए नर्वुडले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा अग्रता बनाएको थियो। तर, त्यसपछि लामो समय गोल हुन नसके पनि इन्ज्युरी समयमा हाकिमी जियाचले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए।
योसँगै एफए कपको सेमिफाइनल समीकरण पूरा भएको छ।
३९ वर्षपछि सेमिफाइनल पुगेको लेस्टरले अप्रिल ११ मा हुने खेलमा साउथह्याम्टनको सामना गर्नेछ।
त्यस्तै, सोही दिन चेल्सीले म्यानचेस्टर सिटीसँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ।