काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्।
मन्त्री श्रेष्ठ आज बिहान ९ बजे नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन्। मन्त्रीको सचिवालयकारअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। बत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ। मन्त्री श्रेष्ठ त्रिशूलीको बट्टास्थित क्याम्पमा जानेछन्।
त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन्। त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङ मार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिनेछन्।
त्यहाँबाट फर्केर उनले नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन्। शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्।
नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङ मार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम छ।
नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ।