काठमाडौं- अमेरिकाले इरानको रणनीतिक महत्व बोकेको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण केन्द्रमा हवाई आक्रमण गरेको छ। अमेरिकी अधिकारीका अनुसार जुलाईको अन्त्यपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात प्रत्यक्ष आक्रमण हो।
अमेरिकी केन्द्रीय कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सैनिकले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ राख्न र रकेट प्रहार गर्न तयारी गरिरहेको देखिएपछि आक्रमण गरिएको थियो।
इरानी रिभोलुसनरी गार्डले आइतबार भएको अमेरिकी आक्रमणमा केही मानिसको मृत्यु तथा घाइते भएको जनाएको छ। उसले आक्रमणको जवाफ दिने चेतावनीसमेत दिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार त्यसपछि इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य लक्ष्यमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। जोर्डनको सेनाले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सोमबार बिहान आफ्नो आकाशमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ।
इरानको रिभोलुसनरी गार्डसँग आबद्ध तस्निम समाचार संस्थाका अनुसार लाराक द्वीपमा भएको अमेरिकी आक्रमण ड्रोनमार्फत गरिएको थियो। आक्रमणमा दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
रिभोलुसनरी गार्डका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’ भन्दै यसबाट अमेरिकाले आर्थिक तथा सैन्य क्षेत्रमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
लाराक द्वीप महत्वपूर्ण बन्दरगाह बन्दर अब्बासको नजिकै रहेको छ। यो होर्मुज जलडमरूमध्यमै अवस्थित भएकाले यसको रणनीतिक महत्व अत्यन्त ठूलो मानिन्छ। पछिल्लो समय इरानले यस क्षेत्रबाट जाने तेल ट्यांकरलाई जाँचका लागि रोक्ने र जलडमरूमध्य पार गर्न प्रतिजहाज २० लाख अमेरिकी डलरसम्म शुल्क लिन बाध्य पारिरहेको विवरण सार्वजनिक भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता होर्मुज जलडमरूमध्यमा इरानले अवरोध गर्न राखेका सबै समुद्री सुरुङ विस्फोट गराइएको वा हटाइएको दाबी गरेका थिए। नयाँ सुरुङ राख्ने कुनै पनि जहाज वा डुंगालाई नष्ट गरिने चेतावनीसमेत उनले दिएका थिए। इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले भने ट्रम्पको दाबीलाई ‘प्रचारात्मक भ्रम’को संज्ञा दिएका छन्।
यसैबीच, अमेरिकाले अगस्ट २४ मा इरानमाथि नयाँ आर्थिक प्रतिबन्ध घोषणा गरेपछि तेहरानमाथि आर्थिक दबाब थप बढेको छ। अमेरिकाले इरानलाई थप एक्ल्याउने र उसका सहयोगीमाथि समेत प्रतिबन्ध विस्तार गर्ने उद्देश्यले नयाँ कदम चालेको जनाएको छ।
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न क्षेत्रमा व्यापक सैन्य आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल, अमेरिकी सैन्य आधार तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकलाई लक्षित गर्दै आक्रमण गरेको थियो। त्यसक्रममा होर्मुज जलडमरूमध्यमा समुद्री यातायातसमेत लगभग बन्द भएको थियो।
युद्ध सुरु हुनुअघि विश्वमा प्रयोग हुने कुल तेल तथा तरलीकृत प्राकृतिक ग्यासमध्ये करिब २० प्रतिशत होर्मुज जलडमरूमध्य हुँदै ओसारपसार हुने गरेको थियो। पछिल्लो अमेरिकी आक्रमणसँगै अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ ।