पोखरा– क्यामेरा, लेन्स र ब्याट्रीले भरिएको गह्रुँगो झोला बोकेर गोरखाकी पूर्णिमा श्रेष्ठले काठमाडौंका गल्लीगल्ली चहारिन्। होटलहरुमा पुगिन्, कार्यक्रमहरुमा सहभागी भइन्। पेसा थियो फोटो पत्रकारिता। घुमफिर त चलेकै थियो।
तर सन् २०१७ को सगरमाथा बेसक्याम्पको घुमाइले उनको जीवनमै ‘युटर्न’ ल्याइदियो। एभरेस्ट म्याराथनको फोटो खिच्न गएकी उनले विदेशीहरुको हिमाल मोह देखिन्। सगरमाथाको देशमा जन्मेर पनि त्यसको महत्व बुझ्न नसकेको अनुभूति उनले गरिन्।
हिमालको फेदीबाट धित मरुन्जेल फोटो खिचिन्। फोटो खिच्दै गर्दा सगरमाथा कुन हो भनेर ठम्याउन सकस भयो। सोधेर भए पनि हिमालहरुको नाम जानिन्। उनलाई लाग्यो, अब यी हिमालको नाम चिनेरमात्र हुँदैन, चुचुरै चुम्नुपर्छ। जसै उनको मनमा यो भावना उब्जियो, साथीहरुलाई सुनाइन्– आउने वर्ष म सगरमाथा चढ्छु।
तर सगरमाथा चढ्नुअघि ६ हजार मिटर अग्ला हिमाल चढ्नुपर्ने हुन्थ्यो। स्वास्थ्यले साथ दिने–नदिने, उच्च हिमाली क्षेत्रमा कति समयसम्म रहन सक्ने भन्ने पनि परीक्षण हुनुपर्थ्यो।
त्यतिबेलै पूर्णिमाको मनमा लाग्यो, चढ्नु नै छ भने म आफ्नै जिल्लाको मनास्लु हिमाल चढ्छु। तर सिजन आउन समय धेरै थिएन। पहिलो त अभ्यास गर्नुपर्ने, अनि रकमको जोहो पनि। आँट त उनमा पलाइसकेको थियो।
आफ्नो आँटलाई यथार्थमा बदल्न उनी लागिपरिन्। शारीरिक अभ्यास थालिन्। सकेजति रकमको जोहो पनि गर्न थालिन्। पहिलोपटक भएकाले आर्थिक सहयोग कमै भयो।
‘सामान्य घर परिवार हो मेरो, परिवारको आर्थिक अवस्था कमजोरै छ। सुरुमा त ऋण नै खोजेर हिमाल चढेको हो,’ उनले सम्झिइन्। उनको इच्छा सगरमाथा चढ्ने थियो। सगरमाथा चढ्ने इच्छासामु ८ हजार १ सय ५६ मिटर उचाइको मनास्लु तल पर्यो। विश्वकै आठौं र नेपालको सातौं अग्लो हिमालभन्दा माथि उनी पुगिन्। पूर्णिमाले जितिन्।
अर्को वर्ष उनले सगरमाथासम्म पाइला नापिन्। विश्वकै सर्वोच्च शिखरमा पाइला राख्ने पहिलो नेपाली फोटो पत्रकारमा नाम दर्ज गराइन्। उनले सगरमाथा आरोहण मात्र गरिनन्, आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरिन्।
उनको रहर थियो सगरमाथा। सर्वोच्च शिखर नै आरोहण गरेपछि अब अरु हिमाल नचढ्ने कि भन्ने पनि लागेको थियो पूर्णिमालाई। तर खतरासँग जुध्ने बानी परेको थियो उनलाई। ‘किलर माउन्टेन’ अमादब्लमतिर उनको मन गयो। उचाइमा कम भए पनि जोखिमपूर्ण भएकाले अमादब्लम चढ्ने निधो गरिन्। ६ हजार ८ सय १२ मिटर उचाइको अमादब्लममाथि पनि उनले पाइला राखिन्। भन्छिन्, ‘हिमालको काखमा रमाउन धेरै मन पर्छ। मेरो नशामा नै हिमाल चढेको छ।’
तिनै पूर्णिमा अहिले अन्नपूर्ण हिमालको चुचुरोमा पुग्न सातुसामल बोकेर पोखरा आइपुगेकी छन्। अन्नपूर्ण प्रथम पनि उस्तै खतरनाक हिमाल हो। उसो त विश्वकै ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा पहिला ‘भर्जिनिटी’ तोडिएको हो अन्नपूर्ण प्रथमको।
फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई म्याकननले सन् १९५० को जुन ३ मा अन्नपूर्ण प्रथमको पहिलोपटक सफल आरोहण गरेका थिए। गोरखामा जन्मेकी नेपाली चेलीले त्यसको ७ दशकपछि त्यही हिमाल चढ्ने साहस गरेकी छन्। उनी यो हिमालको चुचुरोमा पाइला राखिन् भने एउटा थप रेकर्ड बन्नेछ। अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो नेपाली महिला बन्नेछिन् पूर्णिमा।
खतरा मोलेर फेरि हिमाल आरोहणमा किन ?
पूर्णिमा भन्छिन्, ‘हिमाल चढ्दा लडिन्छ, घाइते भइन्छ, मरिन्छ भनेर डराएर पछि हटेकोे भए त म तपाईंहरुसँग यसरी खुसी बाँड्न पाउने नै थिइन नि।’ हिमाल चढ्न काठमाडौंबाट निस्केकी उनलाई शुक्रबार गण्डकी सरकारले बिदाइ गरेको छ। पूर्णिमाको हौसलाका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग पनि गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्णिमालाई ८ लाख रुपैयाँ प्रदान गरे। गण्डकी प्रदेशकी छोरीको अदम्य साहसप्रति खुसी व्यक्त गर्दै उनले सफल आरोहणपछि पोखरामा रथारोहण गराइने बताए।
मुख्यमन्त्री गुरुङले आफ्नो हस्ताक्षरसहितको राष्ट्रिय झण्डा पनि पूर्णिमालाई हस्तान्तरण गरेका थिए। ‘यो आरोहणले थप खुसी पेस गर्ने छ। सरकारले पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखेको छ,’ उनले भने, ‘तपाईंलाई आरोहणको शुभकामना छ।’
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको आरोही भएको भन्दै खुसी व्यक्त गरे। ‘महिला कति शक्तिशाली हुन्छन् भन्ने यो पनि अर्को उदाहरण हो,’ बस्नेतले भने, ‘प्रयास गर्ने हो भने असम्भव केही छैन।’ कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल लगायत उपस्थित सबैले शुभकामना दिएका थिए।
शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका पुगेको उनको टोलीले आइतबारबाट पदयात्रा थालेको छ। बेस क्याम्पसम्म पूर्णिमाले भाइबहिनीलाई पनि लैजाँदैछिन्। गाउँपालिकाले शनिबार नै आरोहण टोलीको सम्मानमा विशेष कार्यक्रम गरेको छ।
आरोहणका लागि मौसम हेरेर १ देखि डेढ महिना लाग्न सक्छ। सेभेन समिट ट्रेक्स एन्ड एक्सिपडिसनमार्फत उनी अन्नपूर्ण चढ्दैछन्। सेभेन समिटका पेम्बा शेर्पाका अनुसार अरुभन्दा खतरापूर्ण हिमाल भएकाले यति नै समय लाग्छ भनेर भन्न सकिँदैन। पूर्णिमा देशीविदेशी १७ जनाको टोलीमा रहनेछिन्।