शुक्रबार, असोज २, २०८३

‘अर्थतन्त्रले अब डिजिटलतर्फ छलाङ मारिसक्यो’

नेपालको निजी क्षेत्र आफैंमा विभाजित भएको हुँदा यसबारे बेलाबखत निकै आलोचना हुने गरेको छ। तर अब भने त्यस्तो वातावरण नरहने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।   
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

पोखरा– नेपालको निजी क्षेत्र आफैंमा विभाजित भएको हुँदा यसबारे बेलाबखत निकै आलोचना हुने गरेको छ। तर अब भने त्यस्तो वातावरण नरहने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।   

उनका अनुसार सम्पूर्ण उद्योगी, व्यवसायी र तिनसँग सम्बन्धित निकाय अब एकै ठाउँमा उभिने र एउटै बोली बोल्नेछन्। ‘अहिले महासंघको भर्खर–भर्खर वार्षिक साधारणसभा सकिएको छ,’ उनले भने, ‘हामी नवनिर्वाचित समूहहरू नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्समा गएर हाम्रो कमन एजेन्डा बनाउने र एउटै आवाज निर्माण गर्ने अभ्यासमा छौं। यसमा तीनवटै संगठनका पदाधिकारी सहमत भएको अवस्था छ। अब आउने दिनमा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने कुरामा सबै निजी क्षेत्र एक ठाउँमा हुन्छ भन्ने कुराको म विश्वास दिलाउन चाहन्छु।’

कोरोना महामारीले पनि एकजुट हुन पाठ सिकाएको उनको आशय थियो। भने, ‘यस्ता महामारी फेरि पनि आउन सक्छन्। हामी सबै उद्योगी, व्यवसायीबीच कमन अन्डरस्ट्यान्डी हुनु आवश्यक छ। त्यो समझदारी भएन भने उद्योग, व्यवसायीलाई मर्का पर्छ।’   

आइएमई ग्रुपका अध्यक्ष तथा सहसंस्थापक अनि इन्डोनेसियाका लागि अवैतनिक महावाणिज्यदूत पनि रहेका ढकाल पोखरामा भइरहेको आइएमई लिटरेचर फेस्टिभलको दोस्रो दिन बुधबार ‘कोरोनाकालीन उद्योग वाणिज्य’ सत्रमा आर्थिक पत्रकार कुवेर चालिसेसँग कुरा गर्दै थिए।

कार्यक्रममा उनले कोरोनाकालमा उद्योग, वाणिज्य क्षेत्रले भोगेको दुःख र यसबाट सिकेका पाठहरू सेयर गरे। कोरोनाकै कारण भर्चुअल माध्यमबाट भइरहेको फेस्टिभलमा उनले अर्थतन्त्रले पनि अब डिजिटलतर्फ छलाङ मारिसकेको बताए। ‘मानव समाज पहिला वस्तु साटासाट गरेर कारोबार गर्थ्यो,’ उनले भने, ‘त्यसपछि पैसा छापियो। त्यसले क्रान्ति ल्यायो। कोरोनाको पाठ के भने अब मुद्राबाट छलाङ मार्दै हामी डिजिटल इकोनोमीतर्फ लागेका छौं। नेपाल पनि डिजिटल इकोनोमीमा जान सुरु गरेको अवस्था थियो, जसलाई महामारीले अझ छिटो गराइदियो।’ 

यसमा नीति–निर्माताले साथ दिनुपर्ने ढकालको माग छ। डिजिटल व्यवसायमाथि विश्वास गर्नुपर्ने र कुनै एकले बदमासी गर्दा सम्पूर्णलाई घानमा हाल्न नहुने उनले बारम्बार दोहोर्याए। यो प्रसंग उनले निजी क्षेत्रप्रतिको सरकारी वा आम हेराइतर्फ पनि इंगित गरेका थिए। ‘कुनै व्यक्ति र फर्मले बदमासी गरे सारा निजी क्षेत्र बदमास हुन्छ, नाफाखोर हुन्छ, सीएसआरमा प्रतिबद्ध छैन भनेर जेनेरलाइज गर्नुभएन,’ उनले भने, ‘यो परम्परागत सोचाइ फेर्न आवश्यक छ।’ 

नेपाल लगानी बोर्डका सदस्यसमेत रहेका ढकालले चैतपछिको माहोल उद्योग, वाणिज्य क्षेत्रका लागि हदैसम्म कष्टकर रहेको प्रस्ट पारे। अहिले पनि बाह्य पर्यटन ठप्प रहेको स्मरण गराउँदै उनले अबका केही वर्ष आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नु अत्यावश्यक रहेको औंल्याए। सेवा र उत्पादन क्षेत्र, साना उद्योग, व्यवसाय र स्वरोजगारीमा आबद्ध व्यवसायीलाई सबैभन्दा बढी मर्का परेको उनको भनाइ थियो। यो अवस्था अप्रत्याशित भएकाले आफूहरूले महासंघका तर्फबाट पनि पर्याप्त सहयोग गर्न नसकेको पनि उनले स्विकारे।

‘म रोजगारदाता परिषद्को सभापति पनि भएकाले यो सबै अवस्थालाई नजिकबाट हेर्ने मौका पाएँ,’ उनले भने, ‘उद्योग बन्द भए पनि सरकारले कामदारलाई शतप्रतिशत तलब देऊ भनेको थियो। कलकारखानाले यसो गर्न नसक्ने बताइरहेका थिए। त्यो बेला मैले टे«ड युनियनको साथीहरूलाई ५० प्रतिशत तलब दिन सहमत गराएँ। महासंघका तर्फबाट संयोजकका रूपमा मैले गरेको राम्रो महत्वपूर्ण काम मान्छु यसलाई।’ 

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न किन जरुरी छ भन्नेबारे ढकालले उदाहरणसहित भनाइ राखेका थिए। ‘मलेसियाली प्रधानमन्त्री महाथिर बिन मोहम्मद नेपाल आउँदा मैले उहाँलाई दुई दशकमै कसरी मलेसियाको विकास गर्नुभयो भनी सोधेको थिएँ,’ उनले भने, ‘उहाँले निजी क्षेत्रसँगको सहजीकरणले सम्भव भएको बताउनुभयो। निजी क्षेत्रलाई सहयोग गर्दा उद्योग फस्टाएछ। त्यसबाट आएको करले नै मलेसियाको विकास भएको हो रे।’ 

प्रकाशित: Dec 30, 2020| 09:25 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्