काठमाडौं– एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवा थालनी गरेको छ ।
यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा पाउनेछन्।
यसका लागि बैंक, फष्ट पे टेक्नोलोजी प्रा.लि. र चीनको स्वीफ्टपास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्युआर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिनेछ।