काठमाडौ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले कोभिड–१९ पछि नीति नभई मौद्रिक उपकरण मात्र परिवर्तन गरेको बताएका छन्।
गभर्नर अधिकारीले नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा सम्बाेधन गर्दै नेपाल राष्ट्र बैंकले नीति परिवर्तन नगरी बैंक तथा वित्तीय संस्थाको हितका लागि मौद्रिक उपकरणमा मात्र परिवर्तन गरेको बताए।
उनले भने, ‘राष्ट्र बैंकले नीति परिवर्तन गर्याे वा माइक्रो म्यानेजमेन्ट गर्न खोज्यो भन्न मिल्दैन। हामीले कोभिड १९ पछि उद्योगी, व्यवसायी र बैंकको हितमा काम गर्ने हो, त्यो गरिरहेका छाैं।' मौद्रिक उपकरणमा भने समयअनुसार फेरबदल गरिएकाे उनकाे भनाइ छ।
गभर्नर अधिकारीले एक दशकदेखि मर्जर नीतिलाई प्राथमिकतामा राखेको भन्दै मर्जरका लागि बैंकहरूले काम थालिरहे पनि पर्याप्त नभएको बताए। उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरका लागि थप पहल थाल्न आग्रह गर्छु।’
उनले हालसम्म पुनःकर्जा ८२ अर्ब रुपैयाँ स्वीकृत भएको र वैशाखमा कुन बैंकले पुनःकर्जाका लागि कस्तो पफर्मेन्स गरेको छ भन्ने विस्तृत विवरण दिइने पनि बताए।
बाह्य क्षेत्र निकै उत्साहजनक रहेको तथा पछिल्लो समय कर्जा र निक्षेपमा पनि उत्साहजनक वृद्धि भएको भन्दै उनले बैंकहरूलाई सजग भएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे।
गभर्नर अधिकारीले राष्ट्र बैंकको प्राथमिकता भुक्तानी प्रणालीमा ठोस परिवर्तन रहेकाे बताए। त्यसका लागि पूर्वाधार पनि बनिरहेकोले बनेको पूर्वाधारको बैंक तथा वित्तीय संस्थाहरूले भरपूर उपयोग गर्नुपर्ने बताए।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सञ्चालकहरूको संगठनका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट गर्दा बैंकहरूलाई गाह्रो परिरहेको गुनासाे गरे।
उनले अहिले बैंकिङ क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको र त्यसमाथि पनि राष्ट्र बैंक बढी नै ‘रियाक्टिभ एप्रोच’ मा जाँदा बैंकहरूलाई झन् गाह्रो परेको बताए।
गोल्यानले बैंकले सेवा शुल्क ०.७५ प्रतिशत तोक्न ठिक नभएको बताउँदै राष्ट्र बैंकका हरेक नीति तथा निर्देशन बैंकर्स संघसँग परामर्श गरेर ल्याएमा कार्यान्वयन गर्न सजिलो हुने बताए।
बैकर्स संघका अध्यक्ष भुवन दाहालले बैंक तथा वित्तीय संस्थाहरू अटोमेसन र डिजिटलाइसेसनमा जान सकेमा अर्थतन्त्रमा सहयोग पुग्ने बताए।
सभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई उपाध्यक्ष, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेलाई सदस्यमा निर्विरोध चयन गरेको छ।
संघको वार्षिक साधारणसभाले पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको थियो।