काठमाडौं– चालु आर्थिक वर्ष २०७७–०७८ मा धान उत्पादन बढेको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा करिब ७० हजार टन बढी धान उत्पादन भएको छ।
मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीका अनुसार चालु आवमा चैते र बर्खे गरी ७० हजार ८३१ टन बढी उत्पादन भएको छ। वर्षभरि ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ। गत आवमा कुल ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो।
यस वर्ष रोपाइँ गर्ने क्षेत्रफल बढेका कारण र मौसम अनुकूल भएकाले पोहोर सालको तुलनामा उत्पादन बढेको सचिव कार्कीले बताए।
यद्यपि ग्रामीण क्षेत्रमा हुने रोपाइँ तथा धान उत्पादनको तथ्यांक काठमाडौं एवं प्रदेश मन्त्रालय तथा मातहतका कार्यालयबाट संकलन गरिँदै आएकाले सरकारी तथ्यांकको वास्तविकतामा प्रश्न उठ्दै आएको छ।
सरकारले प्रत्येक वर्ष धान तथा चामलमा आत्मनिर्भर बन्ने योजना अघि सारे पनि विदेशबाट हुने चामल आयात भने बढ्दै गइरहेको सरकारी तथ्यांकले नै देखाउँछ।