बिहीबार, असोज १, २०८३

'तिर्खा मेटाउने होइन, प्यास र भोक जगाउने कोसिस हो'

यो पुस्तक हीरा नै त होइन तर कस्तूरीको गन्ध हामीभित्रै छ भनेर सम्झाउने एक सचेत प्रयास हो। 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

झापाको खुदुनाबारी, हालको अर्जुनधारा नगरपालिका ३ का स्थायी बासिन्दा तुलसी निरौला उत्प्रेरणात्मक साहित्यका लेखक, कवि, गीतकार तथा वक्ता हुन्। उनको पहिलो प्रेरणादायी पुस्तक आफैंलाई चिन्ने कोसिस निकै रुचाइएको थियो। यो १११ वटा कथाहरूको संग्रहसँगै १०० वटा गीतको संग्रह हिमाली बगैंचा र ९३ वटा कविताहरूको संग्रह नयाँ राजाहरूको नयाँ लुगा उनका अन्य प्रकाशित कृति हुन्। उनको पछिल्लो पुस्तक कथाहरूको बाकस खोतल्ने कोसिस हो। सोही पुस्तकका बारेमा निरौलासँगको गरिएको कुराकानी : 

कथाहरूको बाकस खोतल्ने कोसिस कस्तो पुस्तक हो?

यो उत्प्रेरणात्मक कथाहरूको संकलन हो। यसमा १११ वटा शिक्षामूलक कथा छन्। यी कथा जीवन, शिक्षा, सफलताजस्ता विषयमा केन्द्रित छन्। प्रश्न, कथा र समाधानका आधारमा केही सिर्जनशीलता थपेर रचना गरिएको कथासंग्रह हो यो। लामो समयदेखि संकलन गरेका कथालाई मैले पुस्तकको आकार दिएको हुँ। 

कथाहरू प्रायः यथार्थताकै उपज हुन्छन्। थोरै काल्पनिकता हुन्छ नै। कथा धेरै लेखिन्छन्। कुनै हराएर जान्छन्, कुनै पुनर्जीवित पनि हुन्छन्। यी यस्तै कथा हुन् जुन पुस्तौंपुस्तासम्म जवान भइरन्छन्। मैले प्रेरणादयी कथालाई जवानी दिने कोसिस गरेको हुँ। 

प्रत्येक मानिस ईश्वरको एक अवतार हो। त्यो अवतारको आफ्नै कथा हुन्छ। त्यस्ता कथा वेद, पुराण,  रामायण, महाभारतमा परिणत हुन्छन्। तिनै कथा सुन्ने सुनाउने एक कोसिस हो यो। 

पुस्तकमा कुनकुन सन्दर्भलाई बढी समेट्न खोज्नुभएको छ?

हामी सबैको पहिलो प्राथमिकतामा जीवन राम्रोसँग बाँच्ने कोसिस हुन्छ। त्योसँग कला र अध्यात्म जोडिएको हुन्छ। जीवनको उत्तरार्धमा अध्यात्मप्रति बढी नै झुकाव हुन्छ। सबै उतारचढावबीच पनि सकारात्मकतालाई र भौतिक यथार्थको साहसपूर्वक सामना गर्नु नै पर्छ। भागेर मात्र हुँदैन। यिनै आधारमा सिकेका सत्यहरूलाई जीवन यात्रामा सदुपयोग गरेर हेर्ने कोसिस हो यो। 

आफैंलाई चिनेर सही मानिसको साथमा सही कर्मको खेल खेल्दै जीवन खुसी र सुखी भएर बाँच्ने र बचाउने कोसिस हो यो। निरन्तर साथहरू बढ्दै जाँदा जीवन खेल खेल्न अझ बढी मजाको अनुभूति हुन्छ। यो जीवनका सबै आयामलाई समेट्न कोसिस गर्दै कथाका माध्यमबाट सही सोच र चेतनाको विस्तार गर्न गरिएको एक प्रयास हो। 

उसो भए यो हामीले बुझ्दै आएको कथा विधाको पुस्तक होइन भन्न खोज्नुभएको हो?

हो, यो साहित्यको विशुद्ध कथा विधा पक्कै होइन। उत्प्रेरणात्मक कथाहरूको संकलन हो। प्रसिद्ध तर छरिएर रहेका कथालाई थप प्रेरणादायी सन्दर्भ हालेर नयाँ पुस्ताको स्वादअनुसार पुनर्जीवन दिएको मात्र हो। त्यसैले म सर्जक होइन, एक कालिगढ मात्र हो नयाँ आकार दिने। 

हरेक मानिस प्राण र ऊर्जाको खाली कागज बोकेर जन्मन्छ र जीवन कथा लेख्न सुरु गर्छ। महानता र अमरत्व भनेको कसले कति प्रिय र श्रेय कथा लेख्न सक्यो भन्ने मात्र न हो। 

कुनै कथा लामो समयसम्म सुनिन्छन् अनि धेरै कथा जीवनसँगै हराएर जान्छन्। कति कथा नलेखिएरै मरेका छन्। कति कथा लेखेर पनि बिर्सिएका छन्। केही कथा पुस्तौंपुस्ता लेखिइरहन्छन् र पुनर्लेखन भइरहन्छन्। यो पुस्तौं लेखिइरहने र पुस्तौंलाई आवश्यक पर्ने जीवनकथाको संग्रह हो। 

उत्प्रेरणामूलक लेखनमा तपाईंको आकर्षण कसरी भयो?

विद्यार्थीकालदेखि नै रामायण, महाभारत अनि स्वस्थानीका कथाहरूको प्रभाव पर्याे। भगवत्गीता र बाइबल कोट्याउन थालेपछि रुचि बढ्दै गयो। पढ्दै जाँदा विभिन्न धार्मिक सम्प्रदाय र तिनका गुरुहरूको जीवनी र दर्शनले मलजल थप्यो। जीवन, शिक्षा र सफलताका नयाँनयाँ सूत्रहरू खोज्न थाल्दाथाल्दै यस्ता पुस्तकसँग गहिरो प्रेम बस्यो। प्रेमको टुसो विवाहमा फक्रियो अनि हालसम्म चार सन्तान जन्मिइसके। 

शिक्षा किन? कस्तो? कति? कहिले? र केका लागि? यी प्रश्नहरूको उत्तर खोज्दाखोज्दै र आफूलाई चिन्ने कोसिस गर्दागर्दै लेख्न थालेको हुँ। 

पञ्चतन्त्र, हितोपदेशका नीति कथाहरू पुस्तकमै सीमित भइसके। तपाईंको यो पुस्तक पनि त्यस्तै हुने त होइन?

अचेल मानिसलाई भन्दा जिनिसलाई प्राथमिकतामा राख्ने भएकाले त्यसो भएको हो। समय, जीवन र अनुशासनजस्ता केही विषय मानव सभ्यता रहेसम्म कतै न कतै अनि कुनै रुपमा रहन्छन्।

सत्यको खोजी, सुखको खोजी, राजा र ऋषिबीच सन्तुलन खोज्ने कोसिस सबैको रहन्छ। कुनै समयमा अलिक बिर्सनु स्वाभाविक हो तर समयचक्रमा त्यो फेरि खोतलिइन्छ र खोजिन्छ। पञ्चतन्त्र, हितोपदेश कहिल्यै पुराना हुँदैनन्। यो संग्रहमा पनि त्यस्तै कथा छन्। 

मानिसमा जीवनदर्शन, नैतिकता र अध्यात्मबारे झुकाव घट्दै गएको छ। यस्तो अवस्थामा तपाईंको पुस्तकले कस्तो प्ररेणा दिन सक्ला?

जीवनको अन्तिम यथार्थ ढिलोछिटो सबैले स्विकार्नैपर्छ। जति भौतिक संसारमा डुबे पनि आधा जीवनपछि हरेक मानिस झसंग बन्छ नै।

जीवनदर्शन, नैतिकता र अध्यात्म समय र परिपक्वताले ल्याउने कुरा हुन्। गृहस्थको समय सकिन थालेपछि मानिस आध्यात्मिक बन्दै गइहाल्छ। अनि सत्य खोज्न थाल्छ। 

यो धेरैभन्दा धेरै निदाएकालाई ब्युँझाउने, ब्युँझाएर गराउने, गराएर छराउने अर्को अथक प्रयास हो। 

पढेर मात्र केही हुन्न र गरेर मात्र पनि केही हुन्न। पढेर ज्ञानी र गरेर ध्यानी भएर सन्तुलनमा जीवन लैजान कोसिस गर्नमा यो पुस्तकले सानो भूमिका पक्कै खेल्नेछ। 

नयाँ पुस्ताको जीवन अझै ज्ञानी र ध्यानी बनोस् भन्ने ठूलो आशा र कामना गर्दै गरिएको सानो कोसिस हो यो। यो तिर्खा मेटाउने साधन होइन, थप प्यास र भोक जगाउने कोसिस हो। 

यस्ता पुस्तक कुन उमेर समूह वा क्षेत्रका मानिसका लागि उपयुक्त हुन्छन्?

यो किताबलाई दस वर्ष उमेरमाथिका जसले पनि सदुपयोग गर्न सक्छ। टाउकामा प्रश्नको खात लाग्न थालेपछि अनि ज्ञानको सही भोक जाग्न थालेपछि यस्ता पुस्तक काममा आउने हुन्। सोच जागे जहिले पनि सही समय हो र स्वाध्यायनको भोक लागे सही खुराकको खोजमा यस्ता पुस्तक पनि पर्छन्।

यहुदीहरूको सफलताको पछाडिका कारणबारे निकै अनुसन्धान भयो। उनीहरूको सिर्जनशीलता र सफलताको पछाडि घरको संस्कार र ताल्मड, हनुक्का जस्ता आध्यात्मिक अनि पौराणिक किताब र त्यसमा रहेका जीवनोपयोगी दर्शनको प्रभाव भेटियो। 

पूर्वीय दर्शन त हीराको खानी हो। हामीसँग त चार वेद, कैयौं उपनिषद्, अठार पुराण, रामायण, महाभारतजस्ता ग्रन्थ त कति छन् कति। तर हामी कस्तूरी बनेका छौं। भित्रको हीरा नचिन्ने अनि बाहिरको पित्तलमा मरिहत्ते गर्ने। यो पुस्तक हीरा नै त होइन तर कस्तूरीको गन्ध हामीभित्रै छ भनेर सम्झाउने एक सचेत प्रयास हो। 

प्रविधिको विकासले मानिस पुस्तक पढ्न भन्दा सुन्न र हेर्नतर्फ केन्द्रित हुन थालेको छ। अबका मानिस पुस्तक पढेर परिवर्तन हुन्छन् जस्तो लाग्छ?

अमेरिका संसारको अझै पनि सबैभन्दा बढी पुस्तक छाप्ने देश हो। त्यहाँ हेर्ने र सुन्ने किताब त साठीको दशकबाट नै सुरु भएका थिए। तर भौतिक पुस्तकको आकार मेरुदण्ड हो। नेपालीका लागि अन्य खानेकुरा एकछिनका स्वाद हुन् तर सही भोक मेटाउने भात नै हो भने जस्तै यो किताब र यसका अरु रुप पनि त्यस्तै हुन्। 

ढिलोचाँडो मात्र हो। यी कथा पनि सक्दो सबै आकारमा आउँदै छन्। अब पाठक, श्रोता र दर्शकको स्वाद र रुचि अनुसारका बनाउँदै जानुपर्छ। समयअनुसार बग्न जान्नैपर्छ। यी कथाहरू पनि हेर्ने र सुन्ने स्वरुपमा रुपान्तरण हुँदै छन्। 

सामान्य पाठकले तपाईंको यो पुस्तक किन पढ्ने?

प्रायः मानिसको प्रश्न गर्छन् कथा पढेर के हुन्छ? कथाको प्रभाव मैले यहुदीहरूको सफलताको कारणसँग जोडिसकें। हरेक कथाको वैज्ञानिक विश्लेषण खोज्नु मूर्खता हो। कथा बढी कल्पना गर्न सिकाउने उपकरण हो। सबै कल्पना यथार्थभन्दा बाहिर पनि हुन्छन्। सपना कल्पना हो। कथाहरू सपना देख्न र कल्पना गर्न सिकाउने साधन हुन्। 

हामी मानिसबाट मेसिनतिर रुपान्तरण हुन थालेपछि कल्पना र सपनाको सोच र भोक हराएको मात्र हो। आइन्सटाइनले भनेका छन् नि कल्पना के हो भनेर। उनी पनि यहुदी नै थिए। जीवनको उत्तरार्धमा उनले पनि दृश्यभन्दा अदृश्य अथवा भौतिकभन्दा पराभौतिक कुरामा आस्था राख्न थालेका थिए।

अन्तमा उनले पनि जीवनमा प्रेम र करुणाको के महत्त्व रहेछ भन्ने बुझे। पछि गएर उनी वैज्ञानिक कम र दार्शनिक बढी बनेका थिए। दार्शनिक मानिस आध्यात्मिक हुन्छ। अध्यात्म, अदृश्य शक्ति र भक्तिको बाटो हो। स्वर्ग र नर्क त्यही कल्पनाको उपज हुन्। अनि कल्पनाको एक स्रोत कथा हो। 

तसर्थ, यी कथाले कल्पना गर्न र सपना देख्न सिकाउँछन्। कल्पनाको स्वर्गमा पुगेर आनन्द लिन सकिन्छ भने एकछिन भए पनि नर्कको प्रदूषणबाट मुक्त हुन सकिन्छ। तब किन नपढ्ने?

प्रकाशित: Dec 26, 2020| 04:29 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।