पछिल्लो तथ्यांकअनुसार विश्वका सात करोड ९७ लाख ४३ हजारभन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन्।
तीमध्ये १७ लाख ४९ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ। यस्तै कोरोनामुक्त हुनेको संख्या पाँच करोड ६१ लाख ३१ हजार ५६१ जना छ।
कोरोना भाइरस महामारीबाट सर्वसाधारण मात्र होइन विश्वका चर्चित नेता र मन्त्री पनि संक्रमित भएका छन्।
विश्वका कुनकुन नेता कोरोना संक्रमित भए त?
बेलायतका राजकुमार चार्ल्स
राजकुमार चार्ल्स पनि कोरोना संक्रमित भए। उनलाई कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखा परेको थियो। राजकुमार चार्ल्सले आइसोलेसनमै रहेर कोरोनालाई पराजित गरेका थिए।
फ्रान्सका राष्ट्रपति माक्रों

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों कोरोना संक्रमणविरुद्धको अभियानका अगुवा नै हुन्। त्यसैले उनी यसबारे निकै सचेत थिए। तर उनी आफैं कोरोना भाइरस संक्रमण हुनबाट जोगिन सकेनन्। अहिले उनी कोरोनामुत्त भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमणको चपेटामा परे। राष्ट्रपति निर्वाचनको समय थियो। चुनाव उनका लागि निकै प्रतिष्ठाको विषय थियो। कोरोना संक्रमित भए पनि उनी धेरै समयसम्म आइसोलेसनमा बसेनन्। यद्यपि उनले निर्वाचन हारेका छन्।
ब्राजिलका राष्ट्रपति जायर बोल्सनारो

राष्ट्रपति बोल्सनारो कोरोना भाइरसको असरलाई जहिल्यै कम महत्त्व दिन्थे। तर उनलाई पनि कोरोना भाइरसले आक्रमण गरेरै छाड्यो। उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरे र मास्क लगाएर पत्रकारसामु प्रस्तुत भए।
बोलिभियन राष्ट्रपति जिनिन एन्ज

बोलिभियाकी राष्ट्रपति जिनिन एन्जलाई पनि कोरोना संक्रमण भयो। उनले पनि कोरोना संक्रमण भएको आफैंले पुष्टि गरेकी थिइन्। उनी केही दिनसम्म आइसोलेसनमा बसेकी थिइन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना संक्रमणबाट जोगिने अर्का विश्व नेता हुन्। संक्रमण भएपछि घरमै बसेर आराम गरिरहेका उनी गम्भीर हुँदै गएपछि अस्पताल भर्ना भए। अस्पतालमा उपचारपछि उनी नियमित काममा फर्किए।
रुसी प्रधानमन्त्री मिखायल मिसुस्तिन

रुसका प्रधानमन्त्री मिखायल मिसुस्तिन गत अप्रिलमा कोरोना भाइरस संक्रमित भएका थिए। उनी बिरामी भएपछि उपप्रधानमन्त्रीले कार्यभार सम्हालेका थिए। प्रधानमन्त्री मिसुस्तिन केही समयको उपचारपछि निको भए।
बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनकाक

बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनकाकले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्विटमार्फत गरेका थिए। उनले भनेका थिए, ‘मलाई कोरोना संक्रमण भयो। अब म घरमै बसेर काम गर्छु।’ केही समय आराम गरेपछि उनी कोरोनामुक्त भएका थिए।
फ्रान्सका संस्कृतिमन्त्री फ्रांक रिस्टर

फ्रान्सका संस्कृतिमन्त्री फ्रांक रिस्टर पनि कोरोना संक्रमण भएपछि आइसोलेसनमा गएका थिए। ४६ वर्षीय यी नेता अहिले कोरोनामुक्त भइसकेका छन्।
अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टोन

अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टोन कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। क्विन्सल्यान्ड अस्पतालमा केही समय उपचार गरेपछि उनी घर फर्किएका थिए। अहिले उनी कोरोनामुक्त भइसकेका छन्।
इजरायका स्वास्थ्यमन्त्री याकोव लित्मान

इजरायका स्वास्थ्यमन्त्री याकोव लित्मान पनि कोरोना भाइरस संक्रमणबाट जोगिन सकेनन्। उनी मात्र होइन पत्नी पनि कोरोना संक्रमित भइन्। दुवै जनालाई कोरोना संक्रमण भएपछि उनीहरु केही समय अलगअलग बस्नुपरेको थियो। राेयटर्स