करिमा बलोच पाकिस्तानमा भइरहेका मानव अधिकार हननका घटनाका आलोचक तथा पाकिस्तानको दक्षिण पश्चिम प्रान्त बलोचिस्तान स्वायत्तताको समर्थक थिइन्। सन् २०१५ मा करिमा पाकिस्तानबाट भागेर क्यानडा गएकी थिइन्।
पाकिस्तानी मानव अधिकारकर्मी करिना बलोचको शव क्यानडाको टोरन्टोमा फेला परेको छ।
उनी बेपत्ता भएको खबरपछि प्रहरीले खोजी गरेको थियो। उनको शव सोमबार क्यानडाको टोरन्टोस्थित ओन्टिारियो तालको नजिक फेला पारेको क्यानडाको प्रहरीले जनाएको छ। करिमाका परिवारका सदस्यले पनि शव उनकै भएको पुष्टि गरेका छन्।
करिमा बेपत्ता भएको खबर आइतबार सार्वजनिक भएको थियो। करिमा पाकिस्तानकी सक्रिय मानव अधिकारकर्मी थिइन्। उनी पाकिस्तानमा हुने गरेका मानव अधिकार उल्लंघनविरुद्ध आवाज उठाउँथिन्।
करिमाले विशेष गरी महिला अधिकारका पक्षमा आवाज उठाउँथिन्। उनी बलोचिस्तानका जनताले भोगिरहेका उत्पीडनका विपक्षमा खुलेर आवाज उठाउँथिन्।
बीबीसीले करिमालाई २०१६ मा संसारका १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो।
२०१८ को संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ३९ औं सत्रमा करिमाले पाकिस्तानी समाजमा रहेको लैंगिक भेदभाव र असमानताको मुद्दा उठाएकी थिइन्। सम्बोधनका क्रममा उनले बलोचिस्तानमा सेनाको अत्याचारबारे सशक्त विराेध गरेकी थिइन्।
बलोचिस्तान प्रान्तमा अधिकारकर्मी र पत्रकार निशानामा परेको यो घटना पहिलो भने होइन।
बलोच पत्रकार साजिद हुसेन गत मे महिनामा स्विडेनमा मृत भेटिएका थिए। उनी मार्चमा स्विडेनको राजधानी स्टकहोमबाट बेपत्ता भएका थिए।
२०१२ मा पाकिस्तानको बलोचिस्तान प्रान्तबाट भागेका साजिद २०१७ देखि स्विडेनमा बस्दै आएका थिए। बलोचिस्तान प्रान्तमा कैयौँ सशस्त्र समूहले युद्ध गरिरहेका छन्।
पाकिस्तान सरकारले भने उनीहरूलाई विदेशीमो समर्थन रहेको आरोप लगाउँदै आएको छ।
बलोचिस्तानको पृथकवादी समूहले बलोच राजनीतिक कार्यकर्ता बेपत्ता र हत्यामा पाकिस्तानी सरकार संलग्न रहेको आरोप लगाउँदै आएको छ। तर यसलाई पाकिस्तान सरकारले अस्वीकार गरेको छ।
असुरक्षाका कारण ठूलो संख्यामा बलोच राजनीतिक कार्यकर्ताले देश छाडेर निर्वासित जीवन बिताइरहेका छन्।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले करिमा हत्याको अनुसन्धान गरी दाेषीमाथि कारबाहीकाे माग गरेको छ। संस्थाले भनेको छ, 'करिमाको हत्यारा पहिचान गरी दोषीमाथि कानुनी सजाय हुनुपर्छ।’ रोयटर्स