बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजगढ विमानस्थल : हालसम्म ११४ जग्गाधनीलाई मुआब्जा वितरण

निजगढ विमानस्थल : हालसम्म ११४ जग्गाधनीलाई मुआब्जा वितरण

बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई ४४ करोड रूपैयाँ मुआब्जा वितरण गरिएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

वीरगञ्ज। बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गाधनीलाई ४४ करोड रूपैयाँ मुआब्जा वितरण गरिएको छ।

निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड रूपैयाँ मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाममा फिर्ता लिइसकिएको छ।  

देशमा कोरोना सङ्क्रमणका कारण नापी तथा मालपोत कार्यालय लामो समयदेखि बन्द रहेकाले मुआब्जा वितरण प्रभावित भएको थियो। अहिले भने सो मुआब्जा वितरण भइरहेको दोस्रो विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ। 

मुआब्जा लिन बाँकी रहेका जग्गाधनीसँग निवेदन लिने कार्य भइरहेको विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले जानकारी दिए। 

मुआब्जा वितरण कार्यअन्तर्गत मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा चार लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा दुई लाख ४९ हजार २५० र बाटो नभएको जग्गाको प्रतिकट्ठा दुई लाख चार हजार १५० रूपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको बताइएको छ। 

तटबन्ध, मुआब्जा, नदी नियन्त्रण कार्य, विमानस्थल क्षेत्रमा जग्गाको तारबार पसहा तथा दशैया खोलामा तटबन्धलगायतका काममा हालसम्म ८० करोड रूपैयाँ खर्च भइसकेको छ।

संघीय सरकारको प्राथमिकतामा रहेको सो आयोजनाको धावनमार्ग निर्माण हुने मध्य भागमा टाँगिया वस्ती रहेकाले सो वस्तीलाई अन्य ठाउँमा हस्तान्तरणका लागि सरकारले वैकल्पिक स्थानको पहिचान र अध्ययन गरिरहेको छ।

यसैबीच सो विमानस्थल निर्माणका क्रममा एक हजार ९०० हेक्टर क्षेत्रफललाई १२ वटा कार्य क्षेत्रमा विभाजन गरी वन क्षेत्रभित्र रहेको रुख र विद्युतीय खम्बाको गणना सुरु गरेको छ। 

पहिलो चरणमा डिभिजन वन कार्यालय बाराले २०० हेक्टर क्षेत्रफलमा रहेको ५७ हजार ३५० वटा खम्बा र रुख काट्नुपर्ने बताइएको छ। रासस

प्रकाशित: Dec 21, 2020| 13:43 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्