काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासीमा पाँच महिनाको गैँडाको बच्चा मृत फेला परेको छ।
कावासोती नगरपालिका–१३ नमूना मध्यवर्ती सामुदायिक वनमा पाँच महिनाको मृत बच्चा बिहीबार फेला परेको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार बच्चालाई भाले गैँडाले आक्रमण गरेको हुनसक्ने आकलन गरिएको छ।
बच्चाको भर्खर पलाउन लागेको खाग तथा खुर सुरक्षित छ। योसँगै एक वर्षमा मात्रै निकुञ्जमा १५ गैँडा मरेका छन्।
तीमध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन्।
निकुञ्जमा प्राकृतिक र चोरी शिकारीबाट गैँडा मर्नेक्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ भने सुरक्षा पनि बढाएको छ।
-रासस