काठमाडौं– भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालक समिति अध्यक्ष लम्बोदरकुमार न्यौपाने ठगी कसुरमा पक्राउ परेका छन्।
रामेछाप मन्थली नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्दै आएका ६४ वर्षीय न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
चाँगुनारायण नगरपालिका–४ स्थित कलेजको सम्पत्ति विभिन्न प्रपञ्च गरी संस्थालाई हानिनोक्सानी गरी क्षति पुर्याई आफू र अन्य संलग्न व्यक्तिहरुलाई लाभ पुर्याउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार तथ्यगत रुपमा खुलेको आठ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ तथा लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको रकम २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ५१ पैसा ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं महानरगपालिका–४ चण्डोलबाट पक्राउ गरिएको छ।
२३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समिति अध्यक्ष रहेका न्यौपानेले २० फागुन २०७३ गते सञ्चालक समितिको बैठकले जनही एक करोड ५० लाख रुपैयाँ रकम बिलभरपाई पेस गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएको पाइएकाे छ।
यसैगरी कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजार रुपैयाँ गाडी न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएको, कलेजको लेटरप्याड र छाप दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा न्यौपानेले ५७ लाख ५० हजार रुपैयाँ रकम झिकेको र न्यौपानेले काल्पनिक शीर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिलभरपाई नचाहिने गरी आफ्नो कार्यकालको विभिन्न मितिमा रकम झिकी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ।
उनीमाथि ठगी कसुरमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ। यसैगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
न्यौपाने यसअघि अख्तियार अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धी मुद्दाको कसुरमा धरौटीमा रिहा भएका थिए। उक्त मुद्दा विचाराधीन छ।