काठमाडौं- भारतीय विदेश सचिव श्रीहर्ष वर्धन शृङगला दुई दिने भ्रमणको लागि आज नेपाल आउँदै छन् ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा शृङगला आज नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन्। उनी आएसँगै नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुने भएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी नेतृत्वका प्रतिनिधिमण्डलबीच आजै वार्ता हुन लागेको हो। नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो।
भारतीय विदेश सचिव शृंगलाले नेपाल भ्रमणका क्रममा आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ।
यस्तै उनले राजनीतिक दलका नेताहरुसँग भेट्ने भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेशमन्त्री शृंगलालले भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किनेछन्।
कोरोना महामारीबीच भारतबाट लगातार कुटनीतिक र उच्चस्तरिय भ्रमण भइरहेको छ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कात्तिक १९ गते ३ दिने नेपाल भ्रमणमा आएका थिए । उनले राष्ट्रपति प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता गरेका थिए ।
त्यसअघि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल कात्तिक ५ गते नेपाल भ्रमणमा आएका थिए ।
उनले पनि प्रधानमन्त्री केपीशर्मा ओलीलगायतलाई भेटेका थिए ।