तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ।
नगरप्रमुख गुरुङलाई मंगलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार बुधबारदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्।
‘नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्ने निर्णय भएको छ’, सुवेदीले भने।
यसैबीच नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले गत वर्षदेखि हरिबोधिनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको हो। प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उक्त दिन नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिए।