काठमाडौं– सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव बुकलेट बनाएर देशैभर पठाउने तयारी गरिएको छ।
२८ कात्तिकमा बसेको नेकपा सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो राजनीतिक दस्तावेज पेस गरेका थिए।
प्रस्ताव बुकलेट बनाएर पठाउने भएपछि नेकपाभित्र देखिएको विवाद जिल्ला तहसम्म नै पुग्ने देखिएको छ।
‘बुकलेट बनाएर प्रस्ताव सबै कमिटीमा छलफलका लागि पठाउन लागिएको हो,’ दाहाल निकट एक नेताले नेपाल समयसँग भने।
दाहालसहितका बहुमत सदस्यहरुको सामूहिक सहमतिमा दस्तावेज आएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने दाहालले ल्याएको राजनीतिक प्रस्ताव फिर्ता हुनुपर्ने माग गर्दै आएका छन्।
दाहाललाई प्रस्ताव फिर्ताका लागि ओली समूहका नेताहरुले बारम्बार भेटेर आग्रह गर्दै आएका थिए।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपाका दोस्रो तहका नेताहरुले छलफललाई निरन्तरता दिइरहेका छन्।
मंगलबार मात्रै नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टी महासचिव विष्णु पौडेलसँग छलफल गरेका छन्।
‘सहमतिको वातावरण बनाउनकै लागि आज पनि छलफल भएको हो,’ रायमाझीले भने, ‘अहिले देखिएको विवाद जसरी पनि समाधान गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्ने हामी सबैको निष्कर्ष हो।’
दाहालले प्रस्ताव ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अर्को प्रस्ताव ल्याउने तयारी गरेका छन्।
३ मंसिरमा बसेको सचिवालय बैठकमा ओलीले आफूले लिखित रुपमा नै जवाफ दिने बताएपछि १० दिनको समय दिइएको छ।
अब १३ मंसिरमा बस्ने सचिवालय बैठकमा ओलीले ल्याउने प्रस्तावपछि नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ भन्ने निक्र्यौल हुनेछ।
ओली पक्षले पनि प्रस्ताव देशैभर पठाउने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले ल्याउने प्रस्तावको तयारीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल जुटेका छन्।
यस्तो छ दाहालको प्रस्ताव