काठमाडौं– यही सिजनबाट तीन वटा चिनी मिलले उत्पादन गरेको ७ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणले किन्ने भएको छ।
सर्लाहीको इन्दुशंकर सुगर मिल्स, महोत्तरीको एभरेस्ट सुगर मिल्स र बाराको रिलायन्स सुगर मिल्सले उत्पादन गरेको बिजुली प्राधिकरणले किन्ने सम्झौता गरेको हो।
प्राधिकरणले मिलसँग प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद गर्ने छ। विद्युत् खरिदका लागि प्राधिकरणले प्रसारण लाइन जोडिसकेको छ।
सामान्यता चिनी मिल मंसिरको अन्त्यदेखि चैत महिनाभर चल्छन्। सरकारले २०७२ देखि चिनी मिललाई विद्युत् उत्पादनमा सहभागी गराउने नीति ल्याए पनि यो वर्षदेखि कार्यान्वयन हुन थालेको हो।
मिलले उखु पेलेर बाँकी रहेको खोस्टालाई प्रयोग गरेर विद्युत् निकाल्ने गर्छन्।