जनकपुरधाम- महोत्तरीमा बेपता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् वस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए ।
आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा शव फेला परेको हो । शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चापागाईले जानकारी दिए । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको हो । चपागाईंका अनुसार ति युवकले आरोप स्वीकार समेत गरीसकेको छ ।
बालिकाको बलात्कार गरेर हत्या गरेको भन्दै स्थानियहरुले प्रदर्शन गरेका छन् भने प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै केही भन्न सकिने बताएको छ ।
यता स्थानियहरुले पक्राउ परेका आरोपीको घर तथा बर्दिवासस्थित मुख्य चोकमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले आरोपित युवाको घरमा आगजनी गरेका छन् । आगो निभाउन गएको दमकललाई समेत उनीहरुले अवरोध गरेका थिए ।
प्रदर्शन नियन्त्रणमा लिन र अवरोध खुलाउन प्रहरीले ४ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।