सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अपी पावरले दुई आर्थिक वर्षको १४ प्रतिशत बोनस सेयर दिने

अपी पावरले दुई आर्थिक वर्षको १४ प्रतिशत बोनस सेयर दिने

अपी पावर कम्पनीले दुई वर्षको गरी १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।
 |  मंगलबार, मंसिर ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०७७

काठमाडौं– अपी पावर कम्पनीले दुई वर्षको गरी १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

कम्पनीको सोमबार भएको दुई वर्षको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को क्रमशः ५ र ९ प्रतिशतले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो। 

साधारणसभाले नयाँ चुक्तापुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ। साधारणसभामा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय व्यवस्थापन प्रमुख शाश्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए। त्यसैगरी कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौैपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गरेका थिए। 

अपीको साधारणसभाले आगामी ४ वर्षको लागि नयाँ सञ्चालक समितिको समेत चयन गरेको छ। नवनिर्वाचित सञ्चालकहरूमा सतिष न्यौपाने, सञ्जिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्का छन्।

अपी पावरले भर्खरै हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ। अपीले ८.५ मेगावाटको नौगढ सानो जलविद्युत आयोजनाबाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ जलविद्युत आयोजना पनि निर्माण पूरा गरिसकेको छ।

कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन्। कम्पनीले विद्युत् प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन बिजुली खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। 

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँमात्र नाफा कमाएको थियो। 

हाल अपीको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकमसमेत गरेर कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख पुग्ने छ।

प्रकाशित: Nov 24, 2020| 06:41 मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्