म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदीमा मोटरेबल पुल निर्माण भएको छ।
वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगंगा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो। राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो।
ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनीयर जितेन्द्र सिंहले जानकारी दिए। उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन दुई करोड ५० लाख खर्च भएको छ।
पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सडक सञ्जालमा जोडिएको छ। यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन। राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युतको रघुगङ्गा ३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ। सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच थिएन।
पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँगै रघुगङ्गा गाउँपालिकाको वडा नं ५ को झिँ र वडा नं ६ को पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सडक सञ्जालमा जोडिएका छन्।
मौवाफाँट हुँदै बुग्लसम्म पुगेको सडकको ट्र्याक राहुघाट जलविद्युत् आयोजनाकै सहयोगमा झिँसम्म विस्तार भइसकेको छ। बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो। गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो। अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् ०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो।
विसं २०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि ०७६ असार ७ गतेबाट सुरु भएको थियो। राहुघाट जलविद्युत् आयोजनामा उत्पादन हुने विद्युत् नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना छ।