काठमाडौं– बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रतिवादी बनाइएका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेवी जोशी साधारण तारेखमा छुटेका छन्।
सोमबार विशेष अदालत काठमाडौंमा उपस्थित भएका जोशीलाई अदालतले साधारण तारेखमा छोडन आदेश गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।
पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको थियो। गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो।
तत्कालीन उपप्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी अख्तियारले ११० जनालाई कैद सजाय र बिगोसहित मुद्दा चलाएको थियो भने ६५ जनाको हकमा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाएको थियो।
अहिलेसम्म पनि आरोपितमध्येका तत्कालीन उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दिपकुमार बस्न्यात लगायत ११७ जना आरोपित अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्।
जोशीसहित अहिलेसम्म उपस्थित भएका ५८ जनामध्ये अदालतले ३३ जनालाई धरौटीमा छोडेको थियो। तर, जोशीलाई भने साधारण तारेखमा छोडन आदेश गरेको हो।