शुक्रबार, भदौ २६, २०८३

पोखरामा नेपाल गुटको भेला, ओली पक्षलाई प्रवेश निषेध

सत्तारुढ दल नेकपाको आन्तरिक विवाद गण्डकी प्रदेशमा समेत प्रवेश गरेको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

पोखरा– सत्तारुढ दल नेकपाको आन्तरिक विवाद गण्डकी प्रदेशमा समेत प्रवेश गरेको छ। 

पार्टीभित्रका मुख्य तीन गुटमध्ये माधव नेपाल समूहले आइतबार पोखरामा गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ।

पोखरा लेकसाइडस्थित होटल माउन्ट कैलाशमा आयोजित भेलामा नेकपा एमालेको पछिल्लो महाधिवेशनमा माधव नेपाल पक्षमा रहेका नेताहरूलाई आमन्त्रण गरिएको थियो। 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहबीच विवाद चर्किरहेको बेलामा नेपाल पक्षले छुट्टै भेलाको आयोजना गरेको हो। 

भेलामा सहभागी एक नेताका अनुसार स्थायी कमिटी सदस्य पाण्डेले प्रशिक्षणको शैलीमा सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कम्युनिस्ट आन्दोलन र दुई तिहाईको सरकार संकटमा परेको बताए। 

नेकपा एमाले र जनताको बहुदलीय जनवादको सैद्धान्तिक बाटो केपी ओलीकै कारण छोडिएको आरोप लगाउँदै पाण्डेले अहिले कुनै मुद्दा नपाएर जबजको कुरा गर्न थालेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेपाल समयलाई जानकारी दिए। 

‘उतिबेला ओलीजी र प्रचण्ड मिलेर जबज र २१ औं शताब्दीको जनवादलाई त्यागे र जनताको जनवादलाई पार्टीको सिद्धान्त बनाए,’ पाण्डेले भने, ‘माधव नेपाल समूहलाई थाहै नदिई नेकपा एमाले र जबज सिध्याएको होइन? आज उनै प्रचण्डसँग झगडा गरेर एमाले ब्युताउँछु भन्दै जबजको बहस चलाउन कुन नैतिकताले दिन्छ?’ 

पार्टी सिद्धान्तको बहसभन्दा ओलीको अहंकारले विभाजनतिर

अहिले पार्टी र सिद्धान्तको बहसले नभै ओलीको दम्भ र अहंकारले मात्र पार्टीमा विभाजनको अवस्था सिर्जना भएको पाण्डेले बताएका थिए। 

आफूहरूले प्रधानमन्त्री ओलीलाई कुनै पनि पदबाट हट्न नभनेको बताउँदै पाण्डेले ओलीको कार्यशैलीमा मात्र विमति रहेको जानकारी गराएका थिए। 

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर चुनावमा गएकै कारणले जनताले झन्डै दुईतिहाई बहुमत दिएर पठाएको स्मरण गराउँदै पाण्डेले जनताको त्यो अभिमतको कदर गर्न पनि पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने धारणा राखेका थिए। 

कार्यक्रममा पूर्वमाओवादी समूहका नेता कार्यकर्तालाई आमन्त्रण नगरिएको भए पनि पाण्डेले उनीहरूसँगको सम्बन्ध सुमधुर राख्न आफ्ना पक्षका कार्यकर्तालाई निर्देशन दिएका थिए। 

‘ओली पक्षले पूर्वएमाले भन्दै भावनात्मक कुरा गरे पनि त्यसका पछि नलाग्न र पूर्व माओवादी पक्षलाई साथमै लिएर हिँड्न निर्देशन दिनुभयो,’ भेलामा सहभागीमध्येका एक नेताले बताए। 

यसलगत्तै पाण्डेले कास्की जिल्ला कमिटीमा रहेका नेपाल पक्षका कार्यसमिति सदस्यहरू  र युवा विद्यार्थीका अगुवाहरूसँग छलफल गरेका थिए।  

भेलामा सहभागी भएकी केन्द्रीय सदस्य सीता गिरी ओलीले कुनै गुटगत भेला नभएको दाबी गरिन्। उनले भनिन्, ‘उहाँ (पाण्डे) पोखरा आउनुभएको रहेछ र भेटेका मात्रै हौं, त्यही बेला समसामयिक विषयमा कुराकानी भएको हो।’ 

नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपाका केन्द्रीय सदस्यहरू चूडामणि जंगली, सीता गिरी, रवीन्द्र अधिकारी (नवलपुर), श्रीमाया थकाली, श्रीनाथ बराल सहभागी थिए। 

त्यस्तै म्याग्दीबाट बालकृृष्ण सुवेदी र कृष्ण विक, बागलुङबाट इन्द्रलाल सापकोटा र दलबहादुर थापा, पर्वतबाट नरेश पौडेल, मोती पौडेल, उदय सुवेदी र भक्त कुँवर, तनहुँबाट प्रतापलाल श्रेष्ठ र विष्णुभक्त सिग्देल, गोरखाबाट हरि काफ्ले, नवलपुरबाट कृष्ण पौडेल लगायत सहभागी थिएस। 

स्रोतका अनुसार भेलामा नेपाल पक्षधर अर्थशास्त्री डा. गोविन्दबहादुर थापा पनि सहभागी थिए। नेता पाण्डे आइतबार बिहान बुद्ध एयरको जहाजबाट पोखरा आइपुगेका थिए। 

गुटगत भेलाको तयारी केन्द्रीय सदस्य चूडामणि जंगलीले गरेका हुन्।  आइतबारको भेला-बैठकको सञ्चालन पनि उनैले गरेका थिए। 

पाण्डेले गुट भेला गर्ने थाहा पाएर माउन्ट कैलाश होटल पुगेका केपी ओली पक्षधर विद्यार्थीलाई भने प्रहरीले बाहिर निकालेको थियो। 

भेलामा सहभागी हुने नेताहरूलाई एक एक गरी बैठक कक्षभित्र लैजाने प्रबन्ध मिलाइएको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन्। भेलाका सहभागी ३० जनाले होटल माउन्ट कैलाशमै डिनरसमेत गरेका थिए। 

प्रकाशित: Nov 22, 2020| 15:21 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।