काठमाडौं– ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका) सकारात्मक देखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकासँग पटक–पटक भएको छलफल सकारात्मक बन्दै गएको जानकारी गराएका हुन्।
मन्त्री पुनले लगानी जुटाउन सरकार लागिपरेकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका दिएका छन्।
मन्त्री पुनले वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रो पावर कम्पनीका अध्यक्ष मोहनराज पन्तसँगको नलगाड जलविद्युत् आयोजनाका विषयमा छलफल गरेका छन्।
नलगाड कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएको मन्त्री पुनको भनाइ छ। वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकोले संघ, प्रदेश, स्थानीय तह र प्रभावित क्षेत्रका जनतासँग समन्वय गर्न आफू तयार रहेको बताए।
आयोजनाको परामर्शदाता अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्ट जेभी मिलेर सन् २०१६ देखि डीपीआरको काम गरिरहेका छन्।
सम्झौतामा ३० महिनामा डीपीआर सम्पन्न गर्ने उल्लेख गरिएको थियो। समयमा नसकिएपछि सरकारले पटक–पटक म्याद थप गर्दै आएको छ।
जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा आयोजनाको विद्युतगृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल हुने छ। नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युतगृह निर्माण हुने गरी आयोजनाको डिजाइन गरिएको छ।
आयोजनाका लागि आवश्यक ४ हजार ६०५ रोपनी जग्गा अधिग्रहण गर्दा लाग्ने २ अर्ब ७६ करोड रुपैयाँमध्ये २ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।