सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघ निर्वाचन : किशोर प्रधान समूहको नेपालगञ्जमा बृहत् भेला

उद्योग वाणिज्य महासंघ निर्वाचन : किशोर प्रधान समूहको नेपालगञ्जमा बृहत् भेला

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ। ३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ।

महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन्। 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई निर्वाचन जिताउनुपर्ने बताए। उनले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्व अध्यक्ष चण्डीराज ढकालले विधान विपरितको बोली बोलेको आरोप लगाए।

निवर्तमान अध्यक्षका हैसियतमा आफू महासंघको हरेक बैठकमा पुगे पनि डेढ वर्षसम्म कुनै कुरा नबोलि फर्किएको भए पनि जब विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बन्नबाट रोक्ने बहस सुरु भयो, त्यसपछि आफू सक्रिय भएको उनको भनाइ छ ।

महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराए। उनले सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्व अध्यक्षहरुलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले उनले चाहेको समूहलाई सहयोग गरेको बताए।

हाल महासंघको जिल्ला नगर उपाध्यक्ष एवम् असन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताए। करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुखद् भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए।

आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको गुनासो गरे। बैंकहरु विगतका जमिनदार जस्तो भएको भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई पीडा दिने बैंकहरुविरुद्द्ध लड्ने प्रण गरेका छन्।

यही मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ । 
 

प्रकाशित: Nov 20, 2020| 05:44 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्