काठमाडौं– असोज अन्तिम सातादेखि बन्द भएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आज बिहीबारदेखि खुलेको छ। आज बिहान चीनबाट सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार गत असोज अन्तिम साता एक जना कामदारमा कोरोना भाइरस देखिएको भन्दै चीनले सामान पठाउन अस्वीकार गरेपछि नाका बन्द भएको थियो।
असार २५ गतेदेखि बन्द भएको तातोपानी नाका स्थानीय चिनियाँ अधिकारी र नेपालका स्थानीय अधिकारीबीच वार्ता भएपछि असोज १९ गतेदेखि खुलेको थियो।
नेपालमा कोरोना भाइरस संक्रमण कायमै रहेको भन्दै चिनियाँ पक्षले नाका सञ्चालन गर्न मानेको थिएन। तर, स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने, सामग्री अनलोड गर्ने कामदारको पीसीआर परीक्षण रिपोर्ट बुझाउनेजस्ता समझदारीपछि गत असोज १९ देखि नाका खुलेको थियो।