चितवन। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरूको सुझावमा जमिनमुनि व्यवस्थापन गर्न लागेको हो।
जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्न लागिएको छ।
शव व्यवस्थापनअघि सबैको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ।
प्रशासनले शोकको यस कठिन परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ। बाध्यात्मक परिस्थितिका कारण पीडित परिवारलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ।