आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डाक्टरको दसैं : सिकिस्त बिरामी छोडेर परिवारमा रमाउन मन मान्दैन 

डाक्टरको दसैं : सिकिस्त बिरामी छोडेर परिवारमा रमाउन मन मान्दैन 

कोरोना महामारीका कारण यसवर्ष पहिलाको जस्तो दसैं नभए पनि चाडपर्वको विदालाई परिवारसँग बसेर मनाइरहेका छन्। 
 |  शनिबार, कात्तिक ८, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं– विगतका वर्षको जस्तो बजारमा दसैंको चहलपहल धेरै छैन। मानिसहरुले खुलेर खर्च गर्न सकेका छैनन्। बजारमा व्यापार घटेको छ। यसपालिको दसैंमा मानिसहरुलाई त्यति दौडधुप देखिएको छैन। तर पनि चाडपर्वमा रमाएकै छन्। कोरोना महामारीका कारण यसवर्ष पहिलाको जस्तो दसैं नभए पनि चाडपर्वको विदालाई परिवारसँग बसेर मनाइरहेका छन्। 

National life

दसैंमा प्रसाशनिक मात्र होइन, आकस्मिक सेवा नभएका स्वास्थ्य केन्द्रहरु पनि विदामा हुन्छन्। तर अस्पताल बन्द गर्न मिल्दैन, अस्पताल खोलेपछि डाक्टरहरु पनि बस्नैपरो।

अस्पतालको आकस्मिक सेवा चौबिसै घण्टा खुल्ला गरेर चिकित्सक, नर्स, स्वास्थ्यकर्मी विदामा बस्ने अवस्थालाई यो वर्षको महामारीले झनै सुख दिएको छैन।

अन्य समयमा त चिकित्सकहरुलाई अस्पतालको कामले चाडबाडमा परिवारको लागि समय दिन गाह्रो हुने अवस्था थियो भने यस वर्ष असम्भव जस्तै बन्न पुगेको छ। अन्य सामान्य अवस्थामा अस्पतालको ड्युटी सकेर घर पुगेका चिकित्सकहरु यसपालि आइसोलेसन वा क्वारेन्टिनमा बस्नुपर्ने अवस्था छ। 

‘यसपालिको दसैंमा कोरोना र बिरामीहरुसँगै अस्पतालमै हुनुपर्छ, घरमा गएर रमाउने अवस्था छैन,’ गत साता दसैंको योजनाबारे जिज्ञासा राख्दा छातीरोग विषेशज्ञ डा. अशेष ढुंगानाले भने, ‘अस्पतालमा कोरोना संक्रमित दिनहुँ बढिरहेका छन्। क्रिटिकल केयर, भेन्टिलेटर चाहिने, आईसीयु चाहिने बिरामीहरुले बेड नपाएर छटपटाइरहेको देख्दा कहाँ दसैँ मनाउन मन लाग्छ र ? विगतका वर्षमा आलोपालो गरेर ड्युटी मिलाएर काम गर्थ्यौं। यो बर्ष कतिबेला अस्पताल आइपुग्नुपर्ने हुन्छ, थाहै हुँदैन। अस्पतालबाट घर गए पनि परिवारसँग सँगै बसेर चाड मनाउन पाइँदैन।’

Shivam cement

पछिल्ला १५ वर्षदेखि नै राम्रोसँग दसैं मनाउन नपाएको उनले सुनाए। चाडबाडमा पनि अस्पतालमै रहने बानी नै परिसक्यो उनलाई। ढुंगाना भन्छन्, ‘मलाई पनि बुबाआमाको हातबाट टीका लगाउन रहर छैन होला र ? तर कोरोनाको जोखिममा बुबाआमा नै हुनुहुन्छ,  मैले नै विचार गरिन भने झनै खतरा हुन्छ।’

बिरामीसँग हुँदा उनलाई कसैको सहारा बनेको छु जस्तो लाग्छ र सबै दुःख विर्सन्छन्। भन्छन्, ‘सबैले परिवारसँग चाडपर्व मनाउँदा हामीलाई पनि मन लाग्छ तर चाडपर्व भनेर मात्रै बिरामीलाई अस्पतालमा छटपटीमा राखेर चाडबाड मनाउन मनले दिँदैन रहेछ। बिरामीलाई निको बनाएर पठाउँदा मनमा एकप्रकारको सन्तुष्टि मिल्छ। बिरामी निको हुँदा चाडपर्व मनाएको भन्दा बढी आनन्द लाग्छ।’

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विषेशज्ञ डा. शेरबहादुर पुनको पनि यसपालि दसैँको दिन निधारमा टीका पर्छ–पर्दैन निश्चित छैन। त्यसो त जागिरको १८ वर्ष लागिसक्दा उनले करिब ५ वर्षमात्रै परिवारसँग बसेर चाडपर्व मनाएका छन्। अस्पतालको दौडधुपले उनलाई चाडबाडको रौनक नै विर्साइदिन्छ। 

नेपालमा कोरोना संक्रमण सुरु भएसँगै कोभिड फोकसको रुपमा रहेको टेकु अस्पतालमा कोरोना संक्रमित बिरामीहरु मात्रै उपचाररत छन् । यतिबेला आफूले दसैं कसरी मनाउने भन्दा पनि कोरोना, अस्पताल, बिरामीतर्फ मात्र ध्यान दिएको उनले बताएका छन्। 

‘यसपालि त कोभिडका बिरामीहरुसँगै रहनुपर्छ। कोरोना संक्रमणका कारण परिवारसँग नजिक हुन नपाएको धेरै महिना भइसक्यो। घरमा पुगेपनि बुबाआमालाई टाढैबाट हेर्नुपर्छ। अस्पतालमा बिरामी छटपटाएको देख्दा मनले पनि घरमा रमाउन मन नमान्दो रहेछ। दसैँको टीकाकै दिन अस्पतालमा बस्नुपर्दा केही नरमाइलो त लाग्छ नै तर सोही समय बिरामीलाई निको बनाउन पाउँदा त्यो भन्दा आनन्दको अरु अनुभूति सायदै होला।’

सरुवारोग विषेशज्ञ डा. अनुप बास्तोलाले पनि नेपालमा कोरोना महामारी भएसँगै घरपरिवारलाई समय दिन सकेका छैनन्। अझ आफ्नो डेढ बर्षको बच्चाको विकासक्रम देख्न नपाउँदा उनी खिन्न मान्छन्।

भन्छन्, ‘नेपालमा कोरोना सुरु हुँदा बच्चा ७ महिनाको थियो, अहिले १५ महिना पुगिसकेको छ। मैले ऊ कसरी हुर्कियो, कसरी खेल्छ, उसले के खान्छ भन्ने कुरा पनि अनुभव गर्न पाइन।’ डा. बास्तोलाले यो महामारीको समयमा सबैभन्दा धेरै मिस गरेको कुरा आफ्नो सन्तान नै हो, जसलाई उनले ८ महिनादेखि राम्रोसँग खेलाउन पाएका छैनन्। 

भन्छन्, ‘यसपालिको दसैँ पनि अस्पतालमै हुन्छ। टीकाको दिन पनि ड्युटी अनुसार काम गर्नुपर्छ। परिवारसँग पनि नजिक हुने अवस्था छैन।’ स्वास्थ्यकर्मी पनि संक्रमित भएकाले व्यवस्थापनमा थप चुनौति रहेको उनी सुनाउँछन्। अन्य समयमा पनि अस्पताल पहिलो प्राथमिकतामा पर्थ्यो भने यसपाली त झनै कोभिडका सिकिस्त बिरामीलाई छोडेर र परिवारलाई पनि जोखिममा राखेर दसैँ मनाउने अवस्था नभएको डा. बास्तोलाले बताए।

डा. बास्तोला भन्छन्, ‘अस्पतालमा बिरामीलाई पनि हामीले दसैँको फिल गराउनुपर्ने दायित्व हुन्छ। आफ्नो मात्रै परिवारका सदस्यको चिन्ता भन्दापनि अस्पतालमा ठूलो संख्याका परिवारका सदस्यहरु हुन्छन्। उनीहरुको अनुहारमा खुसी फर्काउनु छ भन्ने लाग्छ। अस्पतालको ढोका बाहिर आएर कुरेर बसेका आफन्तलाई बिरामीलाई निको पारेर पठाउन पाउँदा चाडबाड भन्दा बढी खुसी मिल्छ।’

सिभिल अस्पतालका रेजिडेन्ट डाक्टर सञ्जय गेलालका पनि चाडपर्व कति छुटेका छन् कति। बिरामीलाई सञ्चो भएपछि उनीहरुको अनुहारमा देखिने खुसी र बिरामीले दिएको आशिर्वादले आनन्द मिल्ने  उनी बताउँछन्। 

प्रकाशित: Oct 24, 2020| 03:00 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।