काठमाडौं– भदौ महिनामा मूल्यवृद्धि दर ४.५२ प्रतिशतमात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि दर ६.१६ प्रतिशत थियो।
बैंकका अनुसार समग्र मूल्यवृद्धि दर कम देखिए पनि भदौमा तरकारीको मूल्यमा २६.९ प्रतिशत, दाल र गेडागुडीको मूल्य १३.६३ प्रतिशत, घ्यु–तेलमा ८.५ प्रतिशत, फलफूलमा ६.२१ प्रतिशत र खाद्यान्नमा करीब ४ प्रतिशत मूल्य वृद्धि एको छ।
खाद्य पदार्थ तथा पेय समूहको समग्र मूल्यवृद्धि ६.९१ प्रतिशत छ।
खाद्य वस्तुको मूल्य बढे पनि गैर खाद्य समूहको मूल्यवृद्धि २.६८ प्रतिशत मात्रै हुँदा समग्र मूल्य वृद्धि कम देखिएको हो।
खाद्य वस्तुको मूल्य वृद्धि हुँदा त्यसको पहिलो मार विपन्न नागरिकमा पर्छ। तरकारीको मूल्य पनि भदौमा गत वर्षको भन्दा एक चौथाइभन्दा बढीले वृद्धि भएको छ।
बजारमा एकातिर खाद्य वस्तुको मूल्य बढेको छ भने कामदारको ज्याला बढेको छैन। जबकि, अघिल्लो आर्थिक वर्षको यही अवधिमा ज्याला र तलब सूचकांक १२।९० प्रतिशतले बढेको थियो।
त्यस्तै चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ) मा चालू खाता २६ अर्ब ७ करोड रुपैयाँ बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोड रुपैयाँ घाटामा थियो।
आयात कम भएको, विदेश भ्रमण र वैदेशिक शिक्षाको खर्चमा आएको कमी आदि कारणले चालू खाता बचतमा देखिएको हो। त्यस्तै, शोधनान्तर स्थिति पनि ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा छ।
भदौ मसान्तसम्ममा देशको विदेशी विनिमय सञ्चिती १४ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ बराबर पुगेको छ। यो सञ्चिती रकमले १४.९ महिना बराबरको वस्तु र सेवा आयात गर्न मिल्छ।
बढ्यो वैदेशिक लगानी
प्रत्यक्ष वैदेशिक लगानी पनि यो अवधिमा २३.३ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ मात्र थियो।
उद्योग विभागका अनुसार असोज मसान्तसम्म विदेशी लगानीका ८६ वटा नयाँ उद्योगले स्विकृति लिएका छन्। तीमध्ये एउटा ठूलो, एउटा मझौला र ८६ साना उद्योग हुन्।
विभागमा असोजसम्म १९ अर्ब १० करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा झन्डै ३८ प्रतिशतले बढी हो । कुल लगानी प्रतिबद्धतामध्ये ८५ प्रतिशत हिस्सा चिनियाँ लगानीकर्ताको छ।
निक्षेप र कर्जा ०.५ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा प्रवाह ०.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पनि ०.५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले बढेको थियो। बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत छ।
२०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत छ । २०७६ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४.६ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ९.८ प्रतिशतले बढेको छ ।
यस अवधिमा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले र विकास बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ, भने वित्तीय कम्पनीहरुको १.७ प्रतिशतले घटेको छ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
यो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको छ भने यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २.८ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ । ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५प्रतिशतले,ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।
१ अर्ब ७६ करोड पुनर्कर्जा
चालू आर्थिक वर्र्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले एक अर्ब ७६ करोड रुपैयाँ बराबरको पुनर्कर्जा वितरण गरेका छन्। यसमध्ये साधारण पुनर्कर्जा ७३ करोड र भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि प्रदान गरिएको पुनर्कर्जा १ अर्ब ३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै ३६ हजार १८१ ऋणीले ६४ अर्ब ९४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा लिएका छन् । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाका लागि २५ हजार ५८९ ऋणीले ५७ अर्ब ४४ करोड रुपैयाँ लिएका छन् भने अन्य शीर्षक अन्तर्गत १० हजार ५९२ ऋणीले ७ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।