काठमाडौं– वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोखास्थित शुभलक्ष्मी फुड एन्ड वेभरेज प्रालि सिलबन्दी गरेको छ।
पानीको जारमा किरा देखिएको गुनासो आएपछि विभागले टोखास्थित सो कम्पनीमा सोमबार अनुगमन गरेको थियो।
कम्पनीले उद्योग दर्ता र खाद्य अनुमतिपत्र नै नलिई भूमिगत पानी बिक्रीवितरण गरेको पाइएको छ। विभागका प्रवक्ता रवीन्द्र आचार्यले कम्पनीमा सिलबन्दी गरिएको बताए।
उनले भने, ‘हामीले अहिले उद्योग सिलबन्दी मात्र गरेका छौं। सञ्चालकसँग कागजात मगाएका छौं। अध्ययन गरेर कुनकुन कानुन आकर्षित हुन्छ, सोहीअनुसार कानुनी कारबाही अगाडि बढाउनेछौं।’
आचार्यका अनुसार सो उद्योगको मुद्दा उद्योग विभाग, स्थानीय निकाय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नापतौल तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले हेर्नुपर्ने हुन्छ।
उनले भने, ‘हामीले गर्ने भनेको उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गर्न सक्छौं। सो कानुनअनुसार विभागले पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ।’