काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पाँचवटा कम्पनीको मार्जिन कारोबार ब्रोकर लाइसेन्स खारेज गरेको छ।
कम्पनीहरूले तिर्नुपर्ने नवीकरण शुल्क नतिरेपछि नेप्सेले उनीहरूको मार्जिक कारोबार ब्रोकर लाइसेन्स खारेज गरेको हो।
खारेज हुने कम्पनीमा कृष्ण सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, नासा सेक्युरिटिज र सिप्रवी सेक्युरिटिज छन्। उनीहरूले आर्थिक वर्ष २०७७÷७८ को मार्जिन कारोबार ब्रोकर नवीकरण शुल्क बुझाएका छैनन्।
यी ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि तिर्नुपर्ने नवीकरण शुल्क बुझाएपछि भने पुनः मार्जिन कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ परिच्छेद –१ को दफा ६(१) मा अनुमतिपत्र प्राप्त कम्पनीले हरेक आर्थिक वर्षको लागि मार्जिन कारोबार सेवा नवीकरण गर्नुपर्ने व्यवस्था छ।
कार्यविधिअनुसार मार्जिन कारोबारको लागि प्रत्येक वर्ष १० हजार रुपैयाँ नेप्सेमा बुझाउनुपर्छ।
हाल नेप्सेमा मार्जिन कारोबारको लागि २२ वटा ब्रोकर कम्पनी सूचीकृत भइ काराबार गर्दै आइरहेका छन्।
