काठमाडौं– भाटभटेनी सुपर मार्केटले अनुमति नलिई खसीबोकाको मासु बिक्री गरेको पाइएको छ।
काठमाडौं महानगरपालिकाको कृषि विभागले गरेको अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटले अनुमति नलिई खसीबोकाको मासु बिक्री गरेको पाइएको हो।
विभाग प्रमुख हरिबहादुर भण्डारीले सोमबार कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा अनुगमन गरिएकाे बताए। उनका अनुसार भाटभटेनीसँग खसीबोकाको मासु बेच्ने अनुमतिपत्र थिएन।
विभागले यसबारे भाटभटेनीलाई स्पष्टीकरण सोधेकाे छ। यस्तै अनुमति लिएर मात्र कारोबार गर्न निर्देशन दिइएको भण्डारीले बताए।
भण्डारीले भाटभटेनीमा खसीबोका आपूर्तिकर्तालाई पनि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिएको जानकारी दिए।
भाटभटेनीले खसीको मासु प्रतिकेजी ९९९ रुपैयाँमा र बोकाको मासु प्रतिकेजी ८९९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ। यो बजारमा भन्दा निकै सस्तो हो।