आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिक नवीकरण शुल्क नबुझाउँदा याक एन्ड यतीसहित २५ कम्पनीको कारोबार रोक्का

वार्षिक नवीकरण शुल्क नबुझाउँदा याक एन्ड यतीसहित २५ कम्पनीको कारोबार रोक्का

वार्षिक रुपमा बुझाउनुपर्ने नवीकरण शुल्क नबुझाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २५ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– वार्षिक रुपमा बुझाउनुपर्ने नवीकरण शुल्क नबुझाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २५ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। 

आइतबार नेप्सले सूचना जारी गर्दै ती कम्पनीहरूले नवीकरण शुल्क नबुझाएकोले कारोबार बन्द गरिएको उल्लेख गरेको हो। 

नवीकरण शुल्क नबुझाएर कारोबार नै रोक्का हुने कम्पनीमा प्रतिष्ठित तथा राम्रो लाभांस दिनेहरू पनि छन्। 

नविकरण शुल्क लामो समयदेखि नतिरेका कारण कारोबार बन्द भएका कम्पनीमा हिमालय डिस्टिलरी, ज्योति स्पाइनिङ मिल्स, रघुपति जुट मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योगलगायत छन्। 

त्यस्तै श्री भृकुटी पल्प एन्ड पेपर, श्रीराम सुगर मिल्स, नेपाल वेयलफेयर कम्पनी, नेपाल टे«डिङ, याक एन्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी छन्। 

क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल सेयर मार्केटस् र सम्झना फाइनान्सको पनि कारोबार रोक्का भएको छ। 

हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रोपावर, अरुण वनस्पति उद्योग, विराट सुज, बुटवल स्पाङनिङ मिल्स, फ्युलर हिमालयन, गोरखकाली रबर उद्योग, हरिसिद्धि ईट्टा टायल कारखानाले पनि नविकरण शुल्क बुझाएका छैनन्। 

नेप्सेले कारोबार रोक्का गरेका केही कम्पनी बन्द भइसकेका छन्। 

श्रीराम सुगर मिल असारमा भन्द भएको हो। भृकुटी पल्स एन्ड पेपर, गोरखकाली रवर उद्योग, हरिसिद्धि इँट्टा तथा टायल कारखाना पनि लामो समयदेखि बन्द छन्। 

सम्झना फाइनान्स, नेपाल सेयर मार्केट्स, हिमालय फाइनान्स, सम्झना फाइनान्स र क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी पनि बन्द भइसकेका छन्। 

यी कम्पनीले नेप्सेमा बन्द भएको सूचना नदिँदा नवीकरण शुल्क नतिरेको भन्दै सार्वजनिक गरेको हो। 

अन्य कम्पनीको भने नेप्सले कारोबार बन्द गर्दा दोस्रो बजारमा कारोबार गर्न चाहने लगानीकर्ता वञ्चित भएका छन्। 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २४ अनुसार बुझाउनुपर्ने नवीकरण शुल्क नबुझाएको भन्दै कारोबार बन्द गरेको जनाएको छ। 

विनियमअनुसार ५० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले वार्षिक ५० हजार रुपैयाँ र त्योभन्दा बढी चुक्ता पुँजी हुने कम्पनीले एक लाख रुपैयाँ तिरेर नवीकरण गर्नुपर्छ। 

 

प्रकाशित: Oct 18, 2020| 11:15 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्